बागलुङ । भारी वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा विहीबार राती साढे १२ बजे पहिरो जाँदा घर पुरिएर स्थानीय अन्दाजी ५५ वर्षीया खिलकुमार शर्माको मृत्यु भएको हो ।
एक्लै बस्दै आउनु भएकी शर्माको सुतेको बेला पहिरो खस्दा मृत्यु भएको बागलुङ नगरपालिका–७ का अध्यक्ष मेघनाथ गैरेले जानकारी दिनुभयो । विहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेपछि अहिले घटनास्थल तर्फ जाँदै गरेको उहाँको भनाइ छ । वर्षाका कारण बाटो बिग्रिएको हुँदा प्रहरी अझै घटनास्थलमा पुग्न नसकेको अध्यक्ष गैरे बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “उहाँ घरमा एक्लै बस्दै आउनु भएको थियो, राति ठूलो पानी प¥यो, घरमाथिबाट एक्कासी पहिरो झर्दा पुरिनु भएछ, विहान छिमेकीले थाहा पाएपछि बल्ल हामीले जानकारी पायौँ, अहिले प्रहरीसहित हामीहरु जाँदै छौँ, रातको समयमा हुँदा पहिरोले पु¥यो, उहाँको घर वरपर खास्सै बस्ती छैन, तत्कालै उद्धारसमेत हुन पाएन ।”
लोकमार्ग अवरुद्ध
भारी वर्षाको कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको काठेखोला गाउँपालिका–६ बयलडाँडामा सडकमाथिदेखि पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ग्रामीण क्षत्रेमा जाने यातायाता ठप्प भएका छन् ।
लोकमार्गमा अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोटसहित विभिन्न स्थानमा संचालन हुने यातायाता ठप्प हुँदा यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।
त्यस्तै बुधबार साँझदेखि परेको पानीले बागलुङ बजार जलमग्न भएको छ । लोकमार्गदेखि आएको भलले बागलुङ बजार जलमग्न भएको छ । बजारको सडक ठाउँठाउँमा भत्किनुका साथै व्यापारीका पसलमा भल बस्दा लाखौँको क्षति भएको बताइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा