हरेक क्षेत्रमा नक्कली कामले प्रश्रय पाइरहेका अनेकौं उदाहरण छन् । अनियमितता नभएको कुनै पनि क्षेत्र पाउन मुस्किल छ । जनसम्पर्क हुने कार्यालयहरूमा सेवाग्राहीसँगै यसरी अनेकौं प्रकारका रिश्वत लिने गरिन्छ । अन्य कार्यालयमा जहाँबाट जे–जे शीर्षकमा अनियमितता गर्ने छिद्रहरू पाइन्छन् तीबाट अनियमिता गर्ने गरिन्छ ।
यातायात कार्यालयबाट दिइने सवारी चालक अनुमतिपत्रमा भएका अनियमितता पनि अकल्पनीय रूपमा रहने गरेको पाइन्छ । यसको यकिन तथ्यांक पाउँन सजिलो छैन तर एक दशकको समायावधिमा एक लाखभन्दा बढी सवारी चालक अनुमतिपत्र नक्कली दिइएको भनेर यसबारेमा उजुरी परेको छ । यो तथ्यांकमात्र पनि एकातिर आफैंमा कहालीलाग्दो त छँदैछ अर्कातिर यसबाट पर्ने नकारात्मक प्रभावको कल्पनाले मात्र पनि झस्किनुपर्ने अवस्था छ ।
सवारी चलाउनु खेलवाडको विषय होइन र यसका लागि दक्षता हासिल गरेको छ भनेर पुष्टि गर्न उसको दक्षता हेरेर अनुमतिपत्र दिइने हो । तर, कतिपय मानिसहरूले सवारीसाधन चलाउन सिकेकै हुँदैनन् तैपनि उनीहरूसँग सवारी चालक अनुमतीपत्र रहेको हुन्छ । यस्तो अवस्थाको सिर्जना कसरी भयो ? यसैगरी सवारी चलाउन पूर्णरूपमा दक्ष नभइकन उसले चालक अनुमतिपत्र लाइसेन्स पाएका खण्डमा त्यस्ता मानिसबाट हुने दुर्घटना हो । केही दुर्घटनाहरू त अदक्ष मानिसले चालक अनुमतिपत्र पाएका कारणले नै हुने गर्छन् । बाँकी चाहिँ यान्त्रिक र मौसमी कारण रहेका हुनसक्छन् । यातायात कार्यालयका कर्मचारीहरूले पुराना र निष्क्रिय भइसकेका लाइसेन्स नम्बरहरू राखेर त्यही नम्बर कायम गरी लाइसेन्स दिने गरेको पाइन्छ ।
त्यसरी जारी गरिने लाइसेन्सहरूको नयाँ नम्बर कायम गरिरहनु पनि नपर्ने अभिलेख खोजेका बेला दर्ता नम्बर पाउन सकिने खालको छिद्रका रूपमा यसलाई अपनाएको पाइन्छ । यस्ता अनेकौं उपाय अवलम्बन गरी कर्मचारीहरूले लाइसेन्स दिने गरेका छन् । यी त अभिलेखमा पाइने खालकै लाइसेन्स भए । अझै कतिपय लाइसेन्सहरू त नक्कली बनाएका हुनाले तिनको अभिलेखसमेत पाइँदैनन् ।बाहिर सयौंको संख्यामा बिचौलियाहरू घुमिरहने, तिनको र कर्मचारीको मिलेमतोमा यस्ता हजारौं लाइसेन्स दिने गरिन्छ । बेलाबेलामा बिचौलियाहरूलाई प्रहरीले पक्राउ गर्छ तर ती फेरि छोडिन्छन् र आफ्नै पूर्वकार्यमा सक्रिय हुन थाल्छन् किनकि यो राम्रो कमाइ हुने काम हो भन्ने तिनले बुझेका हुन्छन् ।
सवारीसाधन दर्ता गर्ने, ब्लुबुक जारी गर्ने, त्यसको नवीकरण गर्ने चालक अनुमतिपत्र जारी गर्ने र त्यसको नवीकरण गर्नेजस्ता अनेकौं काममा सम्बन्धित पक्षबाट कर्मचारीहरूले अतिरिक्त आम्दानी गरिरहेका हुन्छन् । यस्ता अनेकौं कारणले यातायात कार्यालय राम्रो कमाउ अड्डाका रूपमा चिनिएको छ । यसलाई कर र भन्सारलगायतका राम्रो कमाइ हुने कार्यालयमध्ये मानिन्छ । पहिले पहिलेको भन्दा पछिल्लो चरणमा अनुमतिपत्र वितरण कार्यलाई धेरै नै व्यवस्थित गर्दै लगिएको छ । पहिलेको जस्तो ट्रायल नदिई लाइसेन्स दिने काम अहिले हुँदैन । ट्रायललाई पनि व्यवस्थित र कडाइ गरिएको छ, तैपनि छिद्र खोजेर अनियमिता गर्नेहरूको काम यस्ता छिद्रान्वेषण गर्नेतर्फ नै केन्द्रित हुने गर्छ ।
राष्ट्रमा कानुनको सर्वोपरी स्थान हुनुपर्छ ।
कानुन उल्लंघन गरेर यसविपरीत काम गर्नेहरूलाई कानुनले तोकेनुसारको सजाय गर्नु राष्ट्रको दायित्व हो । हाम्रोमा कानुन कार्यान्वयन गराउने निकाय र त्यहाँ रहेका कर्मचारीहरूमा समेत त्यस्तो नैतिक साहस पाइँदैन । यसो हुनुको कारण कतै न कतैबाट उनीहरू आफ्नो मर्यादाबाट चुकेका छन् र त्यस्ता अरूप्रति पनि सहानुभूति राख्छन् भन्ने हो । यसो हुनाले जति नै ठूलो अनियमिततामा जोडिएको व्यक्ति भए पनि उन्मुक्ति पाउने गरेको देखिने गरेको छ । यो नै हाम्रो देशको विडम्बना हो । लाइसेन्स दिने निकायहरूले दशैँलगायत पर्वहरूमा लाइसेन्सलाई खुकुलो गर्ने गरेको पाइन्छ । यो पनि अर्को हास्यास्पद कार्य हो भन्न सकिन्छ ।
कानुन त सधैं सबै ठाउँमा सबैलाई बराबरी लाग्नुपर्छ । कुनै निश्चित ठाउँमा, निश्चित व्यक्तिलाई र निश्चित समयमा फरक–फरक हुनेगरी लागू हुनुहुँदैन । यसो हुनु भनेको त्यसभित्र कुनै न कुनै प्रकारको अनियमितता छ भन्ने संकेत हो । यसरी हालका दिनसम्म सवारी चालक अनुमतिपत्र वितरण गर्दा भएका अनेकौं अनियमिततामध्ये दश वर्षमा एक लाखको संख्यामा जारी भएको नक्कली अनुमतिपत्रको अनुसन्धान प्रहरीले गरेको छ । यस अनुसन्धानलाई एउटा निश्चित निष्कर्षमा पु¥याएर प्रहरीले मुद्दा दर्ता गरेको छ । पहिलेको अरू विभिन्न अनुसन्धान जस्तै बीचैमा अल्मलिनु हुँदैन ।
अनुसन्धान भइसकेर आएको निष्कर्षपछि कारबाहीका लागि सिफारिश गरिएका मानिसहरूलाई सम्बन्धित न्यायिक निकायले विधिसम्मत किनारा लगाउनुपर्छ । तिनलाई हदसम्मको सजाय तोक्नु आवश्यक छ । पहिले पहिलेका दोषीहरूले पूर्णावधि सजाय भोगेको कमै पाइन्छ । यस्ता कार्यले प्रश्रय पाउनु हुँदैन । राष्ट्रको गरिमा कानुनको सम्मानले उच्च बन्न सक्छ ।
पश्चिमा देशहरूले उन्नति गर्न सकेको एउटा कारण कानुनको समानता, सम्मान र त्यसको कडाइँका साथ गरिने कार्यान्वयन हो । प्रहरीले यससम्बन्धी जुन अनुसन्धानको थालनी गरेको छ, उचित निष्कर्ष अपेक्षित छ । सिआईबीले जसरी यसबारे अनुसन्धान गरेर मुद्दा दायर गरेको छ त्यसको सकारात्मक फैसला आओस् र दोषीहरू दण्डित बन्न सकून् भन्ने सबैको चाहना छ । प्रक्रियागत र प्राविधिक सुधारका लागि सम्भव भएका सबै उपाय अवलम्बन गर्न जरुरी छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा