
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकाल समीक्षा प्रतिवेदनकै कारण पार्टीबाट झण्डै निष्कासित हुनुपरेको छ । मुकुलले मुलुक दौडेर ल्याएको पार्टी सुधारको ओखती अन्ततः आफैँलाई भारी परेको हो । उहाँले देश दौडाह गरेर पार्टीमा गम्भीर समस्या देखिएको भन्दै सुधारको खाँचो औँल्याउनुभएको थियो । तर, पार्टीमा देखिएका समस्या औँल्याउँदै सुधारका योजना ल्याउनुभएका ढकाललाई रास्वपाले सबै जिम्मेवारीबाट पदमुक्त गरेको हो । मंगलबार बिहान बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्रीसहित प्रवक्ता र केन्द्रीय समितिबाट समेत हटाएको छ । ढकाललाई साधारण सदस्यबाट भने हटाइएको छैन । अनुशासन आयोगको सिफारिशअनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरू सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको रास्वपा नेत्री सोविता गौतमले जानकारी दिनुभयो ।
उहाँले गत जेठ ६ देखि असार ५ गतेसम्म ३८ जिल्ला पुगेर ‘समीक्षा यात्रा-फोक्सुण्डो’ प्रतिवेदन तयार पार्नुभएको थियो । प्रतिवेदनमा उहाँले नेतृत्वको चर्को आलोचना गर्नुभएको थियो । तर, सोही प्रतिवेदनका आधारमा उहाँ पदमुक्त हुनुभएको हो । ढकालमाथि समीक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा पहिले मिडियामा सार्वजनिक गरेको, केन्द्रीय समिति बैठक लाइभ प्रसारण हुनुपर्ने माग सुनुवाइ नभएको भन्दै कालो टेप लगाएर बैठकमै बसेको र पार्टी सभापतिविरुद्ध अभिव्यक्ति दिएको आरोप छ । गत बुधबार बसेको बैठकले मुकुललाई सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । उहाँमाथि थप कारबाही सिफारिश गर्न अनुशासन आयोगलाई जिम्मा दिइएको थियो । आयोगले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिश गरेको थियो ।
उहाँका अनुसार ढकाललाई केन्द्रीय समितिको निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने मौकासमेत दिइएको छ । रास्वपाको विधानमा पार्टीको कुनै निर्णयउपर चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन गर्न पाउने व्यवस्था छ । केन्द्रीय समितिको बैठकमा आयोगको सिफारिशमाथि छलफल हुँदा अधिकांश केन्द्रीय सदस्यले साधारण सदस्यता कायम राख्नुपर्ने धारणा राखेका थिए । सदस्यको सोही सुझावका आधारमा ढकालको साधारण सदस्यता कायम राख्दै अन्य सबै जिम्मेवारीबाट हटाउने निर्णय भएको गौतमले बताउनुभयो ।
३५ दिनसम्म नयाँ महामन्त्री नबनाउने
राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालै नयाँ महामन्त्री चयन नगर्ने भएको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई पदबाट बर्खास्त गर्ने निर्णय मात्रै भएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिनुभयो । महामन्त्री बर्खास्तलगत्तै नयाँ महामन्त्री चयन गर्ने तयारी थियो । तर, बैठकमा केही केन्द्रीय सदस्यले कारबाहीमा पुनरावेदन गर्न सक्ने म्यादसम्म पर्खिने सुझाव दिएका थिए । रास्वपाको विधानमा कारबाहीमा पुनरावेदनसम्बन्धी व्यवस्था छ । यसका लागि पुनरावेदन समिति बनाइएको छ । ‘उहाँले पुनरावेदन गर्नुभयो र यदि त्यसलाई स्वीकार गरियो भने त फेरि महामन्त्रीमा कमब्याक पनि त गर्न सक्नुहुन्छ, त्यसैले अहिले हतार नगरौँ भन्ने कुरा भयो,’ उहाँले भन्नुभयो । रास्वपा केन्द्रीय सदस्य सोविता गौतमले न्याय निरूपण गर्ने सवालमा विधानलाई र नेपालको कानुनलाई अनुशरण गरेर अघि बढ्ने निर्णय गरिएको बताउनुभयो । महामन्त्री चयन नगरिएपछि कार्यवाहकलाई नै निरन्तरता दिइएको छ । यस अघिको बैठकले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी र कार्यवाहक प्रवक्तामा मनीष झालाई तोकेको थियो ।
सभापतिको बोलीमा लगाम लगाउन खोज्दा आफ्नै मुख थुनियो !
ढकालले पेस गरेको समीक्षा प्रतिवेदनमा रास्वपा संकटमा रहेको उल्लेख छ । पार्टी सुधारको सुरुवात सभापति रवि लामिछानेबाट गर्नुपर्ने उहाँको धारणा थियो । प्रतिवेदनमा प्रदेश संरचना खारेज र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउनुपर्ने, २०८४ को चुनावअघि बालेन साहसँग सहकार्य गर्नुपर्नेलगायत सुझाव उहाँले दिनुभएको थियो । पार्टीको जनमत खस्किएकाले यही अवस्थामा चुनावमा जाँदा एक÷दुई सिटभन्दा जित्न नसक्ने ढकालको निष्कर्ष थियो । प्रतिवेदनमा ढकालले सभापति रवि लामिछानेको शैलीका कारणले पार्टीलाई क्षति पुगेको उल्लेख गर्नुभएको छ । धेरै बोलेर पार्टी कमजोर हुने अवस्था बनेकाले विशेषतः सभापतिले बोलीमा लगाम लगाउनुपर्ने उहाँको सुझाव थियो । नेताहरूमा अध्ययन कम, विचार कम, काम कम तर, बोली धेरै देखिएको प्रतिवेदनमा उल्लेख छ । पार्टीका केन्द्रीय नेताहरूमा फोन नउठाउने प्रवृत्ति रहेको औँल्याउनुभएको थियो । कार्यकर्ता र शुभेच्छुकले पार्टीका मन्त्री, सांसद र नेतालाई भेट्न नपाएको गुनासो राखेका छन् । गुनासो व्यवस्थापन पार्टीभित्र कमजोर रहेको औँल्याइएको छ । ‘केन्द्रीय समिति सदस्य थप्दा वा विभागमा नियुक्ति गर्दा स्थानीयस्तरमा सामान्य सोधपुछ पनि गरिएन,’ सार्वजनिक प्रतिवेदनमा भनिएको छ ।
केन्द्रीय नेता भूगोलमा नखटिएको गुनासो कार्यकर्ताले गरेका छन् । पार्टीभित्र कसलाई भूगोलमा खटाउने आधार नभएको समस्या देखाइएको छ । कामको मूल्यांकन नभएको र गुटगत राजनीति हाबी भएको प्रतिवेदनमा उल्लेख छ । इमान्दारीपूर्वक काम गर्ने पार्टी सदस्यको पार्टीले उचित मूल्यांकन गर्न नसकेको लेखिएको छ । नेताहरू सुविधाभोगी भएको प्रतिवेदनमा उल्लेख छ । केन्द्रीय नेताहरू काठमाडौंबाहिर जाँदा जसले गाडी चढाउन सक्छ उसैसँग मात्र हिँड्ने, ठूला होटलमा जसले बसाउन सक्छ, उसैकोमा मात्र बस्ने जस्ता सुविधाभोगी देखिएको प्रतिवेदनमा लेखिएको छ । रास्वपा अवसरवादीहरूको झुण्ड भइसकेकाले शुद्धीकरण आवश्यक रहेको प्रतिवेदनमा लेखिएको छ । पार्टी शुद्धीकरण केन्द्रबाटै हुनुपर्ने ढकालको जिकिर छ । ढकालले तयार गरेको प्रतिवेदनमा पार्टी एनजिओ जस्तो देखिएको बताउनुभएको छ । यी सबै विषय उहाँले केन्द्रीय समिति बैठकमै पेश गर्न खोज्नुभएको थियो । तर, सभापति लामिछानेले उहाँलाई प्रतिवेदन पेश गर्न दिनुभएन । यति मात्रै होइन केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने उहाँको माग थियो । तर, त्यो पनि पूरा भएन । सभापति लामिछानेको बोलीमा लगाम लगाउनुपर्ने सुझाव दिनुभएका ढकाल आफैँले मुखमा कालो टेप लाएर बैठकमा बस्नुपर्यो ।
रविको क्लबबाट निष्कासित भएँ : ढकाल
रास्वपा महामन्त्रीबाट बर्खास्तीमा पर्नुभएका मुकुल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिनुभएको छ । रास्वपाले सबै जिम्मेवारीबाट मुक्त गरेसँगै उहाँले पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निस्कासित भएको प्रतिक्रिया दिनुभएको हो । ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन,’ उहाँले भन्नुभएको छ । उहाँले फेरि पनि आफू रास्वपामै रहने संकेत गर्नुभएको छ । ‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन,’ उहाँले भन्नुभएको छ ।
कार्कीको ‘काउण्टर’- मुकुल क्लबबाट सभापति स्वतन्त्र हुने बाटोमा
रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछाने मुकुल क्लबबाट निस्किएर पूर्ण स्वतन्त्र भएको टिप्पणी गर्नुभएको छ । पार्टी महामन्त्री मुकुल ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहनेगरी कारबाही गरेलगत्तै कार्कीले सभापति लामिछाने मुकुल क्लबबाट निस्किएर पूर्ण स्वतन्त्र भएको टिप्पणी गर्नुभएको हो । यसअघि पार्टीले कारबाही गरेपछि मुकुलले रवि क्लबबाट मुक्त भएको बताउनुभएको थियो । त्यसको काउण्टरमा कार्कीले लेख्नुभएको छ, ‘मुकुल क्लबबाट निस्किएर पूर्णरूपमा स्वतन्त्र हुने बाटोमा लाग्नुभएकोमा बधाई छ, सभापतिज्यू !’
उहाँले पार्टीको आन्तरिक जीवनमा महामन्त्रीसँग सभापति नतमस्तक हुनुको कारण खोज्दा नभेटिने गरेको भन्दै विधानअनुसार स्वतन्त्र भएर महामन्त्रीलाई काम गर्न दिनु, त्यसको स्वामित्व लिनुको सही भए पनि महामन्त्री प्रतिको असीमित लगावले त्यस्तो मात्र नदेखिएको उल्लेख गर्नुभएको छ । ‘सभापतिलाई सिक्रीमा बाँधिएको हात्तीजस्तो देखिन्थ्यो । पार्टीतिरको त्यो सिक्री आज टुटेको छ । बन्द कोठाको चुकुल खुलेको छ,’ उहाँले लेख्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच