काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा रहेको शिथिलतालाई आगामी मौद्रिक नीतिले गतिशीलता दिनुपर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा सुझाव दिने उद्देश्यले महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
बजार चलायमान बनाउने नीति अझै आउन नसक्दा व्यवसायी र आमजनतामा निराशा छाएको भन्दै त्यसलाई मौद्रिक नीतिमार्फत् सच्याउनुपर्ने ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक रूपमा केही सुधार भए पनि देखिएको निराशा चिर्ने गरी सञ्जीवनी बुटीका रूपमा मौद्रिक नीति ल्याउनुपर्छ, अहिले मुलुकमा थुप्रिएको वैदेशिक मुद्राको सञ्चितिले पनि आर्थिक गतिविधि सुस्ताएको संकेत गर्छ । खराब कर्जा वृद्धि भएकाले अहिलेको समय बैंकहरूलाई पनि बचाउनुपर्नेछ । व्यापार नभएकाले व्यवसायीले ऋणको सावाँ-ब्याज तिर्न सकिरहेका छैनन् । त्यसैले मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनी बुटी बन्नुपर्छ ।’
कर्जा लगानीको माग बढ्न नसक्नुमा कसको कमजोरी हो भएको हो त्यसको पहिचान गरी आगामी नीति तय गर्नुपर्नेमा जोड दिँदै उहाँले नियामक, बैंकिङ क्षेत्र र व्यवसायी एउटै डुंगामा रहेकाले सहज अवतरणका लागि राष्ट्र बैंकले बजार चलायमान बनाउन नीति ल्याउनुपर्ने बताउनुभयो । तर, कार्यक्रममा सहभागी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने आगामी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति देशको परिस्थिति र आवश्यकताअनुसार तयार हुने बताउनुभयो ।
कृषिलाई आगामी मौद्रिक नीतिमा विशेष प्राथमिकता दिन खोजिएको भन्दै उहाँले साना ऋणीलाई चालु पुँजी कर्जा मार्गदर्शन नलाग्ने बताउनुभयो । गभर्नर अधिकारीले भन्नुभयो, ‘चालु पुँजी कर्जा मार्गदर्शन एक करोडभन्दा मुनिको कर्जामा लाग्दैन, एक करोड ऋण भनेको धेरै हो, हामीले पनि ऋण लिन्छौँ, एक करोड ऋणको किस्ता कति तिर्नुपर्छ भन्ने हामीलाई पनि थाहा छ, त्यसैले यो नीतिले साना ऋणीलाई समस्या गर्दैन ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता