काठमाडौं । एनआइएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआइबिएल इक्विटी पार्टनर्स र जगदम्बा स्पिनिङ मिल लिमिटेडबीच विशेष लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआइएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडे तथा जगदम्बा स्पिनिङ मिलका प्रबन्ध निर्देशक विष्णु न्यौपानेले हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै एनआइएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले भन्नुभयोे, ‘उत्पादनको अधिकांश भाग निर्यात गर्ने जगदम्बा स्पिनिङ मिलसँग आबद्ध हुन पाउँदा एनआइबिएल इक्विटी पार्टनर्स निकै खुसी छ । हामी नेपालको अर्थतन्त्रलाई बढावा दिने र देशभित्रै रोजगारी सिर्जना गर्ने दिगो व्यवसायको विकासलाई सहजीकरण गर्न प्रतिबद्ध छौँ । हामीलाई विश्वास छ कि नेपालमा जगदम्बा स्पिनिङ मिल्सजस्तो अझ धेरै संस्थाको आवश्यकता छ ।’
जगदम्बा स्पिनिङ मिलका प्रबन्ध निर्देशक विष्णु न्यौपानेले भन्नुभयो, ‘एनआइएमबी एस क्यापिटल र यसको प्राइभेट इक्विटी फण्ड एनआइबिएल इक्विटी पार्टनर्स जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ । विस्तारको सम्भावना बोकेका कम्पनीहरूका लागि निजी इक्विटी लगानीको नयाँ स्रोत हो, जसले उद्यमीलाई उनीहरूको व्यवसाय नयाँ उचाइमा लैजान मद्दत गर्छ । जेएसएम नेपालको शीर्ष स्पिनिङ मिल बन्ने लक्ष्यमा छ र दक्षिण एसियामा आफ्नो व्यापार विस्तार गर्ने योजनामा छ । जेएसएमले सधैं उच्च–गुणस्तरको धागो उत्पादन, उन्नत प्रविधि र दिगो अभ्यासमा ध्यान केन्द्रित गरेको छ । यस लगानीले कम्पनीको वृद्धिलाई अघि बढाउन, उत्पादन क्षमता बढाउन र दक्षिण एसियामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्य राखेको छ ।’
एनआइबिएल इक्विटी पार्टनर्स नेपाल धितोपत्र बोर्डमा ‘विशिष्टीकृत लगानी कोष नियमावली, २०७५’ अन्तर्गत दर्ता भएको प्राइभेट इक्विटी फण्ड हो । सन् २००५ मा स्थापना भएको जगदम्बा स्पिनिङ मिल्स नेपालको प्रिमियर धागो उत्पादक कम्पनी हो । कम्पनीले विशेष गरेर पोलिस्टर, पोलिस्टर भिस्कोज मिश्रित र एक्रिलिक धागो उत्पादन गर्दै आएको छ । कम्पनीको रुपन्देही, कमहरियास्थित कारखाना विष्णु न्यौपानेको नेतृत्वमा रहेको सौरभ ग्रुपको एक हिस्सा हो ।
जगदम्बा स्पिनिङ मिल्सले अन्तर्राष्ट्रिय मापदण्डअनुसारका उच्च गुणस्तरका उत्पादन विश्वभर निर्यात गर्दै आएको छ । पछिल्लो लगानी सम्झौताले जगदम्बा स्पिनिङ मिल्सलाई उत्कृष्ट धागो उत्पादकका रूपमा स्थापित गर्न र नाफा बढाउन मद्दत गर्ने कम्पनीले जनाएको छ । जगदम्बा स्पिनिङ मिल्सले निकट भविष्यमा आइपिओ ल्याउने योजना बनाएको छ, जसले गर्दा कम्पनीको क्षमता ४० प्रतिशतले विस्तार गर्न सकिनेछ । जेएसएमले स्थापना गरेका दुई प्लान्टबाट दैनिक ५० मेट्रिकटन धागो उत्पादन गर्ने क्षमता रहेको छ । उत्पादनको करिब ९५ प्रतिशत मुख्यतया भारतीय बजारमा निर्यात हुने गरेको छ । कम्पनीले दक्षिण एसियाली क्षेत्रलाई समावेश गर्न आफ्नो निर्यात रणनीति विविधीकरण गर्ने योजना बनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा