झापा । कन्काई (माई) नदीकाे भङ्गालो झापा गाउँपालिकाको दुई स्थानबाट गाउँ पसेको छ ।
झापा १ र २ बाट माई बस्तीमा पसेको नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालले बताउनुभयो । बाढीका कारण झापा गाउँपालिकाका २५ परिवार विस्थापित भएका छन् ।
मिलनबस्ती, सडकबारी, सुगाबथान, कुवाडी लगायत स्थानबाट माई बस्ती पसेको हो ।
माईको बाढीले झापा १ मिलनबस्तीका ८१ परिवारमध्ये २५ परिवार विस्थापित भएका हुन् । अहिलेसम्म २० परिवारका महिला, बालबालिका, वृद्धवृद्धा गरी ९२ जना विस्थापित भएका छन् ।

उनीहरूलाई सितुमारी मनोज मित्तल आधारभूत विद्यालयमा राखिएको छ । बालबालिका २८ दुईजना जेष्ठ नागरिकसहित ९२ जनाले सो विद्यालयमा आश्रय लिएको झापा १ का वडाध्यक्ष राजकुमार यादवले जानकारी दिनुभयो । ८१ परिवार डुबानमा परेको छ ।
झापा २ मा करिब सय परिवार डुबानमा परेको छ । सुगाबथान , सडकवारी, कुवाडीलगायतका बस्ती डुबानमा परेको बताइएको छ । पानी केही रोकिएको छ ।

पानीको सतह पनि थोरै कम भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालयसँग समन्वय पछि भोलि बिहानैबाट सो क्षेत्रमा थप जनशक्ति परिचालित हुने सभापति ढकालले जानकारी दिनुभयो ।






