पश्चिम नवलपरासी । पश्चिम नवलपरासी आज पूर्णखोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा भएको छ ।
राष्ट्रिय खोप तालिकामा समावेश भएका सम्पूर्ण खोपहरू बालबालिकाले पाएपछि लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुन मगरले नवलपरासीलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नुभएको हो । ५९ महिना सम्मका बालबालिकाले पाउनुपर्ने सबै प्रकारका खोप प्राप्त गरेको सुनिश्चितताको आधारमा पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । १५ महिना सम्मका ६ हजार ७ सय ४२ र १६ देखि ५९ महिना सम्मका २० हजार २ सय २६ बालबालिकालाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले बताउनुभयो ।
जिल्लाका सातै स्थानिय तहमा खोज र खोप अभियान सञ्चालन गरी खोपको दायरा बाहिर रहेका बालबालिकालाई समेत खोप लगाएर पालिका स्तरमा सुनिश्चिता गरेर जिल्ला सुनिश्चित भएको घोषणा गरिएको हो ।
खोज र खोप अभियानका क्रममा १ जनाले कुनै पनि खोप नलगाएको २ सय १६ जना बालबालिकाले खोपको मात्रा पुर्ण नलगाएको पाईएको स्वास्थ्य कार्यालयले जनाएको छ । सो क्रममा प्रदेश सरकारका स्वास्थ्यमन्त्री पुनले स्वास्थ्य क्षेत्रमा देखिएका कुपोषण, खोप सुनिश्चितता लगायतका चुनौतिले दिगो विकासका लक्ष्य हासिल गर्न कठिनाई भईरहेको उल्लेख गर्नुभयो । उहाँले लुम्बिनी प्रदेश सम्वृद्धि तर्फ लम्कदै गर्दा स्वास्थ्यका क्षेत्रमा देखिएका चुनौतीले समस्या सृजना गरेको बताउँदै चेतनास्तर वृद्धि गरी समुदायको सहभागितामा सरकारी निकायले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य वैजनाथ कलवारले शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रको समग्र विकासमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्याल, प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर बासुदेव उपाध्याय, स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद कुमार गिरी, प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ, नेपाली काँग्रेसका कार्यवाहक सभापति विक्रम प्रसाद यादव लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।
नवलपरासी जिल्लालाई २०७० साल फागुन १४ गते नेपालकै पहिलो पुर्ण खोप जिल्ला घोषणा गरिएको थियो । पुर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरी जिल्लालाई लुम्बिनी प्रदेश सरकारले यहि असार १९ गते घोषणाका लागि अनुमती दिएको स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन देविलाल पौडेलले जानकारी दिनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts