झापा । कन्चनपुर चाँदनी ( दोधारा र पर्वतको कुश्मापछि झापामा देशकै लामो झोलुङ्गे पुल बन्ने निश्चित भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले शिलान्यास गरेसँगै यो पुल बन्ने निश्चित भएको हो ।
दुई वर्षभित्रै अर्थात् २०८३ साल वैशाखभित्रै निर्माण भइसक्ने यो पोल ४७३ मिटर लम्बाइको हुनेछ । कोलबुंगे गौंडा रमिते झोलुङ्गे पुल कोशी प्रदेशकै पहिलो र मुलुकको तेस्रो झोलुङ्गे पुल हो । बुद्धशान्ति गाउँपालिकाको ६ र ७ जोड्ने झोलुङ्गे पुलको लागत ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैया ३५ पैसा रहेको छ ।
पुल निर्माण शिलान्यास स्थल शर्माको निर्वाचन क्षेत्र हो । सासंद शर्माले वैदिक विधि अनुसार पूजाआजा गरेर पोलको शिलान्यास गर्नु भएको हो । झापाको उत्तरी क्षेत्र टिमाई खोलामाथि निर्माण हुने सो पुल सम्पन्न भएपछि इलामको रोङ गाउँपालिका र झापासँग सिधा सम्पर्क हुनेछ ।
बुद्धशान्ति गाउँपालिका ७ को वडाकार्यालय नजिक बन्ने पुलको सञ्चालनमा आएपछि बुद्धशान्ति ६ सहित रोङ गाउँपालिका ५ र ६ का किसानले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म ल्याउन सहज हुनेछ । यो तरकारी पकेट क्षेत्र हो । पुल नहुँदा किसानले उत्पादन गरेको तरकारी तथा कृषि उपज बजारसम्म पुर्याउन असहज भइरहेको छ ।
सोमबार शिलान्यास गर्दै शर्माले पुल पर्यटकीय गन्तव्य बन्ने बताउनुभयो । उहाँले भन्नुभयो,ू पुल यो क्षेत्रको विकासको मेरुदण्ड नै हो, यसले पर्यटन प्रबर्द्धन समेत टेवा पुग्छ । ू पुलबाट मेचीनगर, बुद्धशान्ति, रोङ र छिमेकी मुलुक भारतको केही भागसमेत देखिन्छ ।
थानी जगदम्बा जेभी काठमाण्डौँले २०८१ जेठ २४ गते पुल निर्माणको ठेक्का पाएको हो । पुल सम्झौता समय भित्रै निर्माण गरिसक्ने निर्माण कम्पनीका प्रतिनिधि लोकबहादुर बस्नेतले बताउनुभयो ।
पुल शिलान्यास कार्यक्रममा बुद्धशान्ति ७ का वडाध्यक्ष चन्द्र भण्डारी, ६ का वडाध्यक्ष शिवाराज पौडेलले बोल्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश सांसद गोपाल तामाङ, निर्मला तावा, कांग्रेस झापा सभापति देउकुमार थेवे, झापा १ कांग्रेस सभापति इन्द्रबहादुर बुढाथोकी, महासमिति सदस्य रामबहादुर कट्टेल, कोशी प्रदेश सदस्य विमल आचार्य, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, विभिन्न दलका प्रतिनिधि तथा स्थानीयको बाक्लो उपस्थिति थियो ।







