पाल्पा र केही दिन यता पाल्पाका ऐतिहासिक तथा महत्वपूर्ण क्षेत्रहरुमा नेपाली फिल्मी क्षेत्रका महानायक राजेश हमाल र नायक धिरेन शाक्यसहितको टोली घुमिरहेको छ । साे टाेली जिल्लाका ठाउँ ठाउँमा पुगेकाे दृश्यहरुले कतै चलचित्र निर्माण गर्न पाल्पा आएका त हैनन् ? भन्ने आम जिज्ञासा सर्वत्र हुने गरेको छ । तर साे टाेली कुनै चलचित्र निर्माणका लागि पाल्पा आएकाे भने हैन। नायकद्वयकाे एउटा मात्र उद्देश्य पाल्पामा पर्यटकीय चहलपहल बढाउनु हो । दुवै नायक आफैँ पनि पाल्पाली भएकाले यहाँको पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरी पर्यटकहरु भित्र्याउन जिल्ला आउनु भएकाे हाे।

पाल्पाका विभिन्न ऐतिहासिक क्षेत्रहरुको अवलोकनसँगै उहाँहरु घुमफिर गरिरहनु भएकाे छ । नायक हमाल र शाक्य निश्चित कार्यक्रमको दायरा भन्दा फरक तरिकाले घुम्दै, स्थानीयवासीसँग कुराकानी गर्दै जे भेटिन्छ त्यही खाँदै, स–साना नानी बाबुदेखि वृद्धवृद्धा बुवाआमासँग फोटो खिच्दै, भलाकुसारी गर्दै पाल्पाका विभिन्न स्थानहरुमा घुम्नुभएकाे छ। उहाँहरुसहितको टोलीले पाल्पाको रामपुरको बेझाड बजार, कृत्रिम ताल तालपोखरा, १० अवतारको वालन नाच, नेपालकै ठूूलो अम्रीसो बगान काउलेडाँडामा घुमफिर गरी स्थानीयवासीसँंग कुराकानी गर्दै फोटो खिच्दै रमाउनु भयाे । तानसेनमा उहाँहरुले अंग्रेजलाई युद्धमा हराएको खुसियालीमा वि.स. १८७६ मा निर्माण भएको भगवती मन्दिर, काजी अमर सिंह थापाले विस १८६३ मा निर्माण गरेको अमर नारायण मन्दिर, पुरानो परम्परागत तानसेन शहर, मखनटोल, पाल्पा दरवार संग्रहालय, पद्यम पव्लिक माध्यमिक विद्यालय, श्रीनगरपार्क तथा बन क्षेत्र, भैरव मन्दिर भैरवस्थान, त्रिभुवन बहुमुखी क्याम्पस लगायतका प्रसिद्ध क्षेत्रहरुमा पुगेर घुमफिर गर्नुभयाे ।
पाल्पा परम्परागत कालदेखि नै एक पर्यटकीय गन्तव्य स्थल रहेकाले पर्यटकीय चहल पहल बढाउने, धेरै भन्दा धेरै मानिसलाई पाल्पाका रमणीय स्थलहरुको जानकारी गराउने र पाल्पामा घुम्न बोलाउने, धार्मिक ऐतिहासिक सबै किसिमका पर्यटकहरुलाई पाल्पा चिनाउने, पाल्पामा अन्तर्राष्ट्रिय स्तरका पर्यटकहरु भित्र्याउने मुख्य योजनाका साथ घुमफिर गर्दै हिडेको महानायक राजेश हमालले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘आफ्नो जन्मस्थान तानसेन निकै परिवर्तन भएको रहेछ, जन्म स्थानका साथीभाईसँगै घुम्न पाउँदा निकै रमाईलो लागेको छ । ’अर्का नायक धिरेन शाक्यले देशका चर्चित सेलिव्रेटीहरुलाई पाल्पामा ल्याउने, घुमाउने, र पाल्पाको प्रचार–प्रसार गर्ने र पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने अभियानमा जोडिएको बताउनुभयो । पर्यटनको मेरुदण्ड भनेको आफ्नो स्थानलाई राम्ररी चिनाउनु, आफ्नो स्थानप्रति अरुलाई आर्कषित गर्नु, धेरै भन्दा धेरै मानिसलाई आफ्नो स्थानमा भित्र्याउनु, आफ्नो क्षेत्रको कला संस्कृति, पहिचान, इतिहास, भेषभुषाले घुम्न आएका मानिसलाई आर्कषित गरेर खुसी बनाउदै स्थानीयवासीहरुलाई आयआर्जनसँग जोडेर जिविकोपार्जनलाई सहज र सजिलो बनाउने अभियानका साथ आफुहरु ‘यात्रा नेपाल’ मा रहेको यात्रा टोलिका संयोजक साकार प्रधानले बताउनुभयो । उनीहरुलाई तानसेनमा नेवारी धिमेवाजा बजाउँदै स्वागत गरिएको थियो । नायकहरुको इन्ट्रीले पाल्पामा पर्यटकीय चहलपहल बढ्ने जिल्लावासीले विश्वास लिएका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता