बैतडी । अविरल वर्षापछि खसेको पहिरोका कारण खोडपे-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पुनःअवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण गएरातिदेखि राजमार्ग अवरुद्ध भएको हो ।
जिल्लाको पाटन नगरपालिका-८ साणीघाटीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा राजमार्गमा सञ्चालन हुने सवारी आवागमन पूर्ण रुपमा रोकिएको छ भने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।
अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको बताउँदै प्रनि पाण्डेयले निरन्तरको वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको जानकारी दिनुभयो । यसअघि असार २३ गते बिहान पनि सोही स्थानमा पहिरो खस्दा राजमार्ग बन्द भएको थियो । यही असार २२ गते सिगास गाउँपालिका-९ को आलुगैरामा पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग गएरातिदेखि सञ्चालन भएको थियो ।
बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । लगातार वर्षा भइरहेकाले आवश्यक सावधानी अपनाउन प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गर्नुभएको छ । “अत्यावश्यक काम बाहेक यात्रा नगर्न सर्वसाधारणमा आग्रह गर्दछौँ”, उहाँले भन्नुभयो, “सुरक्षामा खटिनुभएका सबैले सावधानी अपनाएर उद्धारमा जुट्नुपर्ने अवस्था आएकाले सोहीअनुसार काम गर्न अनुरोध गर्दछौँ ।”







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts