बागलुङ । युवा विदेशीयपछि गाउँमा बुढापाका र बालबालिका मात्रै छन् । खेतीयोग्य जमिन झाडीले ढाकिदै छ । एक दशक अगाडिदेखि नै गाउँबाट बसाइँसराइ गर्ने र सहर बजार झर्नेको लर्को चलेको थियो । त्यही बजार झर्ने लाइनमा हुनुहुन्थ्यो, बागलुङको जैमिनी नगरपालिका–७ जैदी बोरका कुशल राना ।
सुविधा खोज्दै परिवारसहित बजार झर्नु भएका राना १० वर्षपछि गाउँ फर्किएर व्यवसायिक बाख्रापालन गर्दै आउनु भएको छ । गाउँ छोडेपछि राना दुई वर्ष विदेश पनि पुग्नु भयो । कतारमा दुई वर्षसम्म काम गर्दा राम्रो कमाई हुन नसकेपछि उहाँ स्वदेश फिर्ता हुनुभयो । स्वदेश आएर पनि गाउँ नफर्किनु भएका रानाले म्याग्दी र बागलुङको विभिन्न ठाउँमा काम गर्नु भयो ।
विदेशमा हण्डर, बजारमा हण्डर, जताततै हण्डरै–हण्डर खाएपछि राना गाउँ फर्किएर व्यवसायिक बाख्रापालन थाल्नु भएको हो । ४० वर्षीय रानाले तीन वर्षदेखि बाख्रा पाल्दै आउनु भएको छ । गाउँको झण्डै २० रोपनी जमिनमा उहाँले डाले र उन्नत जातको घाँस लगाउनु भएको छ । रानाले फर्ममा २० लाख बढी लगानी गरिसकेका छन् ।
रानाको फर्ममा अहिले ४० बाख्रा पुगिसकेका छन् । पाँच लाख रुपैयाँ ऋण खोजेर व्यवसाय थाल्नु भएका रानाले अहिले वार्षिक सात लाख बढी आम्दानी गर्नुहुन्छ । गाउँ छोडेपछि विदेश र स्वदेशमै हण्डर खाएर फर्किनुभएका राना अब गाउँमै उद्यमी बन्ने सोचमा हुनुहुन्छ । राना गाउँ फर्किए पनि उहाँका परिवार काठमाडौँमै बस्ने गर्छन् ।
गाउँ छोडेपछि रानाको घर जीर्ण बनेको थियो । अहिले मर्मत गरेर पुरानै शैलीमा फर्किएको छ । उहाँको फर्ममा स्थानीय र बोयर जातका बाख्रा छन् । बाख्राका लागि आधुनिक खोर समेत निर्माण गर्नु भएका रानाले अब कत्ति पनि बाँझो जमिन नराम्रो बताउनुहुन्छ । एक सय बोयर बाख्रा पु-याउने योजना रहेको भन्दै अब कम्तीमा ५० माउ पु¥याउन सकेमा वर्षमा १ सय बोका उत्पादन गर्ने राना बताउनुहुन्छ ।
अन्य बाख्राको तुलनामा बोयर बोकाको मासु महँगो हुने हुँदा यसलाई बढी प्राथमिकता दिने उहाँले बताउनुभयो । रानाले वार्षिक २५ लाख आम्दानी गर्ने गरि काम गरेको बताउनुभयो ।उहाँले भन्नुभयो, “सबै तिर गइयो, हण्डर मात्रै खाइयो, अब आफ्नै गाउँमा बसेर खेती किसानी गर्ने र बाख्रापालन गर्छु, आफ्नो गाउँमै यति ठूलो संभावना रहेछ, पहिले चिन्न सकिएन अहिले बल्ल चिनिया, मलाई यो व्यवसाय गर्नका लागि विभिन्न संघ संस्थाले सहयोग गर्नु भएको छ, मेरो परिवार अहिले पनि सहरमै हुनुहुन्छ, अचेल त यो गाउँ, यहाँको माटो र हावापानी मेरो साथी बनेको छ, दैनिकी बनेको छ, अब गाउँ छोडेर कत्तै जान्न ।”
रानाको व्यवसायलाई बढाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले सहयोग गरेको छ । यस परियोजनामार्फत रानाले साढे सात लाख रुपैयाँ अनुदान पाउनु भएको छ । गाउँमै आएर एउटा युवाले उद्यमी बन्ने लक्ष्य राखेको हुँदा परियोजनाले पहिलो वर्ष साढे दुई लाख र चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ सहयोग गरेको परियोजना प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो । रानाले अनुदान पाएपछि निकै मेहनत गरेर अहिले व्यवसाय फस्टाउँदै गएको उहाँको भनाइ छ ।
“कुशल सरले गाउँमा आएर राम्रो उद्यम गर्नु भएको छ, अहिले गाउँमा युवा भेट्टाउन मुस्किल पर्छ, उहाँ गाउँ छोडेर गएको मान्छे अहिले फेरि फर्किएर यति राम्रो काम गर्नु भएको छ, उहाँलाई सुरुमा सानो रकम नश्ल सुधारका लागि सहयोग गरेका थियौँ,” प्रमुख पौडेलले भन्नुभयो – “राम्रो गर्दै आएपछि यस वर्ष पनि नयाँ कार्यक्रम गर्दै छु भनेर आउनु भएको थियो, त्यसले गर्दा पाँच लाख रुपैयाँ सहयोग गरेका छौँ, सोही अनुसार काम गर्नु भएको छ, उहाँले व्यवस्थित खोर निर्माणदेखि विभिन्न जातका बाख्रा पाल्नु भएको छ, यो अन्य युवाका लागि पनि सिकाइको विषय हो ।”
रानालाई जैमिनी नगरपालिकाले पनि सहयोग गरेको छ । नगरपालिकाले गत वर्ष ४२ हजार पर्ने मकै पिस्ने मिल अनुदान दिएको उपप्रमुख हरिहर शर्माले बताउनुभयो । गाउँमा व्यवसाय गर्ने युवालाई नगरपालिकाले प्रोहोत्सान र सम्मान गर्ने नीति ल्याएको उहाँको भनाइ छ । किसानलाई व्यवसाय तर्फ आकर्षित गर्न र उद्यमीलाई प्राबिधिक तथा अनुदान समेत नगरपालिकाले दिन थालेको शर्माले बताउनुभयो । पछिल्लो समय जैमिनीमा युवा पाइन छोडेको भन्दै रानाले धेरैका लागि प्रेरणा हुने खालको काम गरेको उहाँ बताउनुहुन्छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts