गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा रोजगारदाता सम्मानित भएका छन् । श्रमको सम्मान राष्ट्रको अभियान अन्तर्गत स्थानीय रोजगार रणनीतिका लागि सुझाव संकलन कार्यक्रमको अवसरमा नगरप्रमुख खिलध्वज पन्थीले
यस नगरपालिका भित्रका मुख्य रोजगारदातालाई सम्मान गर्नुभएको हो ।तम्घासस्थित अर्जुन इङ्गलिश बोर्डिङ स्कुलका दानबहादुर केसी, मैत्री सहकारी संस्थाका शंकर गौतम, गुल्मी मोडल अस्पतालका बाबुराम पन्थी, सक्षम मोटर्सका उत्तम कुँवर, लुम्बिनी मोटर्स पार्टसका ईश्वरी कंडेल सम्मानित हुनुभएको छ ।
वाक एन पान फेमिली रेष्टुरेण्टका हरिशचन्द्र थापा, मझेरी एग्रो रिसोर्टका उद्धव पन्थी, राज इन्जिनियरिङका देव विक, न्यु पोखरेल बेकरी तथा चाउमिन उद्योगका विष्णु महत पोखरेल, वि एन एल्मुनियमका बिनोद गैरे र श्रीकृष्ण इन्टरप्राईजेजका राजेन्द्र चुँदारा सम्मानित हुनुभएको छ । सम्मानित हुने सबैलाई तीन र तीन हजार रुपियाँ नगदसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको रोजगार संयोजक मीना सुनार श्रीपालीले बताउनुभयो ।
त्यस अवसरमा नगरप्रमुख पन्थीले रोजगार सिर्जना गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो । यस वर्षदेखि बेरोजगारसंगै रोजगारदाताको अभिलेख राख्न सुरु गरिएको भन्दै उहाँले पाँच भन्दाबढी रोजगार प्रदान गर्ने करिब एक सय विवरण संकलन गरी पुरस्कृत गर्न लागिएको बताउनुभयो । बेरोजगार युवालाई लक्षित गरी कार्यक्रम संचालन गरिने उहाँको भनाइ छ ।
नगरपालिकाले निरन्तर रोजगारदातालाई सम्मान गर्दै जाने र रोजगारी सिर्जनामा सहकार्य गर्ने भएको छ । रोजगारदातासँग मिलेर स्थानीय रोजगारी सिर्जना गर्ने गरी काम गर्ने नगरपालिकाको योजना रहेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताउनुभयो । नगरपालिकाले पहिलो पटक सम्मान गरेको भन्दै रोजगारदाताहरु अत्यन्तै खुसी देखिएका थिए । उनीहरुले यस्ता कार्यक्रमलाई निरन्तरता दिन जरुरी रहेको बताए ।







