प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी २८ गते संसद्बाट विश्वासको मत लिने प्रयास गर्नुहुने भएको छ । यो प्रयास उहाँको संसद् फेसको पाँचौं प्रयास हुनेछ । यसपूर्व उहाँले चारपटक संसद् फेस गरिसक्नुभएको छ । नेपाली राजनीतिक वृत्त हाल अलिक फरक बाटोबाट अगाडि बढिरहेको छ । पहिलो र दोस्रो स्थानमा भएका पार्टीहरू मिलेर सरकार बनाउने निर्णय भएको छ । दुई तीन महिनाको अन्तरालमै सरकार बदलिएका उदाहरणहरू छन् तर केही महिनाअगाडि हातेमालो गर्दै हिँडेका राज्यशक्तिहरू दुई-चार महिना बित्दानबित्दै घोर परचक्री बन्नपुगेको पनि पाइएको छ । विशेषगरी माओवादी केन्द्र र नेकपा एमालेबीचमा यस प्रकारको लुकामारी हुँदै आएको छ ।
यस्तो राजनीतिक परिदृश्यले राजनीतिमा कोही पनि स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् भन्ने भनाइलाई सार्थकता दिने गर्छ । हाम्रो देशमा अहिले त्यस्तै भइरहेको छ । वर्तमान प्रधानमन्त्री दाहाललाई गेम चेन्जरका रूपमा नेपाली जनता र नेपालका राजनीतिक पार्टीहरूले हेर्ने गरेका छन् । उहाँ आफ्नो मिसनमा अहिलेसम्म सफल बन्दै आउनुभएको पनि थियो तर यसपटक भने उहाँका पाइला उहाँले चाहे जसरी अगाडि बढ्न सकेनन् । पहिलेका उहाँका यस्ता प्रयासहरू २०७२ सालको संविधान लागू भएपछि पहिलो पटक भएको संसद्को र स्थानीय तहको निर्वाचनमा समेत सबै वामपन्थी शक्तिहरू एक ठाउँमा उभिने भनेर नेकपा (नेपाल कम्युनिष्ट पार्टी) बनाएर अगाडि बढ्नुभयो ।
उहाँहरूको उक्त प्रयास सफल भयो र झण्डै दुई तिहाइ बहुमत नेकपाले ल्यायो तर त्यो लङ लास्टिङ हुन सकेन । उहाँहरू छिन्नभिन्न बन्न पुग्नुभयो । त्यस बेलाको सडक नाटकपछि विकसित भएका अनेकौं सन्दर्भहरू पछि उहाँ माधव नेपाललाई समेत साथ लिएर आफ्नो मित्रशक्ति नेकपा एमालेको विरुद्ध जेहाद छेडेर अगाडि बढ्नुभयो । आफ्नोभन्दा ठीकविपरीत विचार बेक्ने नेपाली कांग्रेससँग उहाँको हातेमालो कसिलो बन्यो र उहाँ केपी ओलीका विरुद्धमा प्रतिपक्षी दलका रूपमा सीमित बन्न पुगेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकारेर अगाडि बढ्नुभयो । नेपाली कांग्रेससँग उहाँको र माधव नेपालको पार्टीको गहिरो मित्रता बन्नपुग्यो । उक्त मित्रता सरकारमा मात्र होइन निर्वाचनको गठबन्धनमा समेत कायम रहृयो ।
२०७४ सालको निर्वाचनमा एक्लाएक्लै गएका खण्डमा नेकपा माओवादी केन्द्रको अवस्था नाजुक बन्ने निश्चित थियो । त्यही कुरा बुझेर उहाँले नेकपा बनाउनु भएको थियो भने २०७९ सालको अवस्था पनि त्यही नै हो । नत्र निर्वाचनका बेला गठबन्धन गर्नुपर्ने जरुरी थिएन । तर, निर्वाचन सकिनासाथ प्रगाढ मित्रता रहेको पार्टी नेपाली कांग्रेस र नेकपा समाजवादीलाई लात हानेर उहाँ एमालेसँग लगनगाँठो कसेर प्रधानमन्त्री बन्न पुग्नुभयो । नेपाली कांग्रेसले उहाँको पार्टीभन्दा झण्डै तीनगुणा बढी स्थानमा विजय हासिल गरेको अवस्थामा नेपाली कांग्रेसले प्रधानमन्त्रीको दाबी गर्नु अस्वाभाविक थिएन तर उहाँलाई जसरी भए पनि प्रधानमन्त्री हुनु थियो, मित्रताको कुरा थिएन । त्यसैले गठबन्धनलाई चकनाचुर बनाएर उहाँ एमालेसँग मिलेर प्रधानमन्त्री बन्न पुग्नुभयो । बरू नेकपा एस धैर्य गरेर बस्यो ।
अब यो नै अन्तिम पटक हो भने जसरी गठबन्धन फेरी-फेरी उहाँ प्रधानमन्त्री बन्दै आउनुभएको छ । यसपटक नेकपा एसलाई पनि मन्त्रिमण्डलमा सामेल गरियो एमालेले कांग्रेससँग रिस फेरेको मात्र थियो तर उहाँलाई हामी पनि प्रधानमन्त्री स्वीकार गर्छौं भन्नासाथ तीन महिनामै एमालेलाई छोडिदिएर उहाँ पुनः नेपाली कांग्रेससँगै फर्किनुभयो । गत फागुनमा पुनः नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिल्न पुग्नुभयो तर यसपटक भने उहाँले चालेको गोटी सही ठाउँमा नपरेर हुनसक्छ एमाले र नेपाली कांग्रेसबीच सरकार बनाउने सहमति भएको छ । एमालेले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता गरिसकेको छ भने नेपाली कांग्रेस र एमाले दुवै पार्टीले अब अल्पमतमा परिसक्नुभएका प्रधानमन्त्री प्रचण्डलाई राजीनामा गरेर मार्ग प्रसस्त गर्न आग्रह गरेको अवस्था छ ।
तर, प्रधानमन्त्रीले उक्त कुरा स्वीकार गर्नुभएन र आगामी २८ गते शुक्रबार संसद् फेस गर्ने निर्णय गर्नुभयो । अब यतिसम्म अगाडि बढिसकेको राजनीतिक परिघटना पुनः पछाडि फर्किने सम्भावना कतैबाट पनि देखिँदैन । त्यसो हो भने एमाले वा कांग्रेसलाई नलिने हो भने उहाँले विश्वासको मत लिन नसक्ने पक्का छ । अनि यसैगरी कांग्रेस र एमाले एक ठाउँमा उभिएको अवस्थामा बाँकी सबै राजनीतिक दलहरूले उहाँलाई विश्वासको मत दिने हो भने पनि उहाँले विश्वासको मत लिन सक्नुहुनेछैन । अझै तटस्थ बस्नेहरू छन् र वर्तमानमा विकसित भएको राजनीतिक सहमतिमै साथ दिने सानातिना दलहरू पनि छन् भने उहाँको संसद् फेस औपचारिकता मात्र हुनेछ ।
त्यसमा पनि एक महिनाको समय पाउनुहुनेमा २८ गते नै उहाँले संसद्बाट विश्वासको मतको सामना गर्ने निर्णय गर्नुभएको अवस्थालाई हेर्दा उहाँले एमाले र कांग्रेसले गरेको आग्रहलाई सोझो गरी नस्वीकारे पनि घुमाउरो ढंगले मार्ग प्रसस्त गरिदिन खोज्नुभएको जस्तो देखिन्छ । जे होस् मौका प¥यो भने म संसदको पूरा कार्यकाल प्रधानमन्त्री बन्न पनि सक्छु भन्नुभएका प्रधानमन्त्रीले त्यसो भनेको छोटो समयमै प्रधानमन्त्रीबाट बिदा हुनुपर्ने अवस्था सिर्जना हुन पुगेको छ । अबको प्रश्न यतिमात्रै हो कि एमाले र कांग्रेसको यो सहमति कति लामो समयसम्म जान्छ ? त्यो समयले सिद्ध गर्दै लैजाने कुरा हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता