इटहरी । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी जनजाति चलचित्रले विश्वमा नेपालको नाम चिनाउने काम गरेको बताउनुभएको छ । आदिवासी जनजातिले आफ्नो भाषा संस्कृतिलाई मध्यनजर गर्दै चलचित्र निर्माण गरे पनि नेपालमा यस विषयमा ऐन अभावका कारण ओझेलमा पर्ने गरेको उहाँको धारणा थियो । चलचित्र विकास बोर्डअन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति’ले इटहरीमा आयोजना गरेको ‘बृहत् विचार गोष्ठी कार्यक्रम-२०८१’मा बोल्दै केसीले आदिवासी जनजाति चलचित्रकर्मीको गतिविधि बढ्दै गएको खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाली कलासंस्कृति नेपालको गौरव भएको बताउँदै यसलाई विश्वमाझमा पुर्याउने सबैभन्दा सजिलो माध्यम नै चलचित्र भएको उल्लेख गर्नुभयो ।
आदिवासी जनजाति चलचित्रकर्मी महासंघ, कोशी प्रदेशको सहआयोजना रहेको कार्यक्रममा आदिवासी जनजाति मातृभाषीहरूका विभिन्न झाँकीसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्दै चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले चलचित्र विकास बोर्ड अब काठमाडांैमा मात्रै सीमित नभएको बताउनुभयो । चलचित्र विकास बोर्डले पछिल्लो समय देशव्यापी कार्यक्रमहरू आयोजना गरिरहेको उहाँको भनाइ थियो ।
अभिनेत्री मिरुना मगरले चलचित्र क्षेत्र आफ्ना लागि विद्यालय जस्तै भएको बताउनुभयो । उहाँले आफूले धेरै समुदायको पात्र बनेर अभिनय गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक ज्योतिराज राईले चलचित्र नगरीको विकासमा सबै समुदायको उत्तिकै भूमिका रहेको बताउनुभयो । उहाँले एक समुदायले अर्को समुदायलाई आफ्ना संस्कार संस्कृतिहरूको विषयमा जानकारी दिने र लिने वातावरण सिर्जना गर्नु अहिले अपरिहार्य भएको धारणा राख्नुभयो ।
कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान पुर्याउने अभिनेत्री मिरुना मगर, गीतकार तथा समाजसेवी मिना सिंगक, निर्माता तथा निर्देशक लाखबहादुर तामाङ, कलाकार तथा समाजसेवी डा. सञ्जय खतिवडा, कलाकार तथा निर्माता नवीन पराजुली, लिम्बू चलचित्र ‘हाङनांग’का निर्देशक तथा अनाम रंगमञ्चका अध्यक्ष विजय सन्योक सुब्बा, भुजेल चलचित्रकर्मी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल, संस्कार संस्कृति अध्ययन मञ्चका कार्यवाहक अध्यक्ष डिकबहादुर भुजेल, भुजेल चलचित्रका सहनायक सुरज भुजेललगायतलाई सम्मानसमेत गरिएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता