गण्डकी । पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता बीचमा सेतुको काम गरेको छ । एम्बुलेन्सले महानगरपालिकाका ग्रामीण बस्तीमा भएका उत्पादनको सहज बजारीकरण गर्न सहयोग पु-याएको छ । फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजना र पोखरा महानगरपालिकाको सहकार्यमा रु ३६ लाख लागतमा खरिद गरिएको कृषि एम्बुलेन्सले गत वर्ष वैशाख ५ गतेदेखि सेवा सुरुआत गरेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो ।
कृषि एम्बुलेन्समार्फत हाल पोखरा महानगरपालिका वडा नं २२ पुम्दी भुम्दी, वडा नं २३ चापाकोट, घाँटीछिना, वडा नं २८ माझठाना, वडा नं ३३ भरतपोखरीको बागमारा, वडा नं २५ झिर्झिकालगायत स्थानबाट कृषिजन्य उत्पादन निःशुल्क ढुवानी भइरहेको छ ।
मागअनुसार कृषि एम्बुलेन्सलाई विभिन्न ठाउँमा पुर्याउने गरिएको जनाउँदै ग्रामीण क्षेत्रबाट ल्याइएका कृषिजन्य उत्पादन बारअनुसार फरक-फरक ठाउँमा लगेर बिक्रीवितरण गर्ने गरिएको उहाँले बताउनुभयो । कृषि उपज आइतबार पोखराको वडा नं ३ नदीपुर, मङ्गलबार वडा नं ७ स्थित मुनाबजार, बुधबार मुस्ताङचोकस्थित लोकसेवा आयोग कार्यालय अगाडि, बिहीबार सिद्धार्थ चोकस्थित श्री कम्लेक्स, शुक्रबार वडा नं ४ गैरापाटनस्थित वडा कार्यालय अगाडि र शनिबार मुस्ताङचोकस्थित लोकसेवा आयोगको कार्यालय अगाडि बिक्री वितरण गर्ने गरिएको छ ।
गाउँबाट आएको ताजा तरकारी लिन सर्वसाधारणको आकर्षण बढिरहेको छ । किसानबाट ल्याइएको उत्पादन उनीहरूसँग खरिद गरेको मूल्यको २० प्रतिशतभन्दा बढी नबढ्ने गरी उपभोक्ताले खरिद गर्न पाउने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । पछिल्लो समयमा कृषि एम्बुलेन्सको ठाउँठाउँबाट माग बढ्दै गएको जनाउँदै प्रमुख कडरियाले नियमित गाडीको पहुँच नभएका साना किसानका साथै उपभोक्ता दुवैका लागि प्रभावकारी भएको बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts