म्याग्दीमा २० प्रतिशत रोपाइँ

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । समयमा नै वर्षा नहुँदा र सिंचाइ सुविधा पर्याप्त नभएका कारण म्याग्दीमा मध्य असारसम्म जम्मा २० प्रतिशत खेतमा मात्र रोपाइँ भएको छ ।

तीन हजार आठ सय ९० हेक्टर जमिनमा धान खेती हुने म्याग्दीमा यस वर्ष मध्य असारसम्म जिल्लाको समग्र धान रोपाइँ हुने क्षेत्र हेर्दा २० प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

एक हजार आठ सय हेक्टर जमिनमा मात्रै सिँचाइको पहुँच पुगेको म्याग्दीका अधिकांश क्षेत्रमा आकासे पानीको भरमा खेती हुँदै आएको छ ।

आकासे पानीको भरमा रोपाइँ हुने म्याग्दीका हरेक क्षेत्रका लागि समयमै पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित बनेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव वाँस्तोलाले बताउनुभयो । असार महिनाको सुरुवातसँगै म्याग्दीका कृषकहरूले धान रोपाइँ सुरु गरेको भए पनि सिँचाइको पर्याप्त स्रोत नभएको कारणले गर्दा आकाशको पानीकै भर पर्नु पर्ने भएकोले रोपाइँ पर्याप्त हुन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख बाँस्तोलाको भनाइ छ ।

ADVERTISEMENT

असारको सुरुवातमा पर्याप्त वर्षा नभएको तथा तीन बाली लगाइने बेँसीका फाँटहरूका खेतमा मकै भएकाले पनि धान रोपाइँमा ढिलाइ भएको छ । जिल्लाको अधिकांश कृषकहरू सिँचाइ अभावमा खेत रोपाइँका लागि वर्षामै भर पर्नुपर्ने बाध्यता रहेको छ ।

म्याग्दीमा गौरिया, जेठो बुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण-३, खुमल-४, खुमल-१०, लुम्ले-२ लगायतका धानको खेती हुने गर्छ ।

म्याग्दीमा कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये १९ हजार चार सय १९ हेक्टरको जमिनमा मात्रै खेती हुँदै आइरहेको छ । खेतीयोग्य जमिन मध्ये १३ हजार तीन सय ५४ हेक्टर जमिन बाँझो रहेको छ । खेती गरिएको मध्ये जिल्लामा तीन हजार आठ सय ९० हेक्टरको जमिनमा धान खेती हुने कृषि ज्ञान केन्द्रका प्रमुख बाँस्तोलाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *