भक्तपुर । नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, भक्तपुरको आयोजनामा शनिबार स्काउट मास्टर भेलाका साथ समीक्षात्मक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रमले अनुशासित, कर्तव्यनिष्ठ र इमान्दार नागरिक उत्पादन गर्न स्काउटिङ शिक्षा अपरिहार्य भएकोमा जोड दिइएको थियो । नेपाल स्काउटका पूर्वराष्ट्रिय सचिव रामगोपाल कर्माचार्यले समाज अनुशासित र स्वयंसेवी बनाउन स्काउट पाठ्यक्रम व्यवस्था गरी उमेरअनुसार शैक्षिक क्रियाकलाप बनाएकोबारे समाजलाई जानकारी दिनुपर्ने बताउनुभयो ।
भक्तपुरमा स्काउटिङ गतिविधि थप सक्रिय पार्ने उद्देश्यले आयोजित कार्यक्रममा सदस्यता वृद्धि आयुक्त पूर्ण दुवालले स्काउटिङ क्रियाकलापमा एकरूपता ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । स्काउटलाई शैक्षिक अभियानका रूपमा अघि बढाउन विद्यालय व्यवस्थापन र अभिभावकलाई सचेत बनाउनुपर्ने उहाँको भनाइ थियो । स्थानीय परिषद् सदस्य तथा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले विद्यालयहरूमा स्काउट शिक्षक चलाख हुने गरेको र अतिरिक्त क्रियाकलापमा स्काउट मास्टर नै सक्रिय हुने गरेको दृष्टान्त प्रस्तुत गर्दै स्काउट शिक्षालाई जीवनपद्धतिसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
स्थानीय स्काउट सदस्य-सचिव रामेश्वर मचामसीले नगरपालिका, विद्यालय र स्काउट कार्यालय मिलेर स्काउटको सदस्यता वृद्धि गर्दै लैजानुपर्ने बताउनुभयो । विद्यालयका प्रिन्सिपलहरूसँग छलफल गरी थप विस्तार गर्न सके समाजमा इमान्दार र राष्ट्रभावले ओतप्रोत नागरिक उत्पादन हुने उहाँको भनाइ थियो । स्थानीय स्काउट आयुक्त बालकृष्ण बनमालाको सभापतित्वमा भएको कार्यक्रममा डा. सरोजकुमार सुवाल, रविन्द्र बासुकला, राष्ट्रिय परिषद् सदस्य रत्ना चवाल, राष्ट्रिय प्रशिक्षक अच्युत प्रजापती, सहायक राष्ट्रिय प्रशिक्षकहरू सीता त्वानावासु, रुविना छुस्यावाग, राजेस गाइजु, पवनकुमार बल्ललगायतको उपस्थिति रहेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता