धनगढीमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । सुदूरपश्चिमका प्रदेशको अस्थायी राजधानी रहेको धनगढीमा रगतको अभाव बढेको छ । चर्काे गर्मी र खेतीपातीको सिजनमा रक्तदाता घटेपछि रगतको अभाव भएको हो। बिरामीका लागि रगत खोज्न आफन्तले हैरानी व्यहोर्नुपरिरहेको छ।

तुलनात्मक रूपमा सुविधा सम्पन्न अस्पताल रहेको धनगढीमा पहाडी जिल्लाबाट समेत उपचारका लागि बिरामीहरू आउने गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र धनगढीमा रगतको मौज्दात घट्दो छ। बिरामीका लागि आवश्यक परेका वेला तत्कालै रगत पाउने अवस्था छैन । गर्मीयाम सुरु भएसँगै रगत आपूर्तिमा समस्या देखिएको प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले बताउनुभयो ।

‘गर्मीको सिजनमा रगत दिने मान्छे घटे। रक्तदान कार्यक्रमहरू पनि कम हुन थालेका छन्,’ पन्तले भन्नुभयो, ‘ग्रामीण क्षेत्रका बासिन्दा खेतीपातीमा व्यस्त भएकाले पनि रगतको अभाव देखिएको हो।’ हरेक वर्ष गर्मीयाममा रगत अभावको समस्या देखिने गरेपनि यो बर्ष अरुबर्ष भन्दा बढीदेखिएको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

रगत आपूर्तिको सबैभन्दा भरपर्दो स्रोत स्वयंसेवी रक्तदाता भएको, तर गर्मी सिजनमा रक्तदाताको संख्या घटेको रक्त सञ्चार केन्द्रले जनाएको छ। ‘कतिपय समूहको रगत बिरामीका आफन्तले चाहेको वेला पाउने अवस्था छैन, हामीले रक्तदाता खोजेर भए पनि दिने प्रयास गर्छौँ,’ रक्त सञ्चार केन्द्रका प्रमुख पन्तले भन्नुभयो, ‘त्यस्तो अवस्थामा रगत पाउन केही समय ढिलो हुन्छ।’

समयमै रगत नपाउँदा कतिपय शल्यक्रियासमेत प्रभावित भइरहेका बताइएको छ। रक्त सञ्चार केन्द्रबाट दैनिक ५० देखि ६० युनिट रगत खपत हुँदै आएको छ। रक्तदाता भने दैनिक न्यूनतम १० देखि अधिकतम २५ जना पुग्ने गरेका केन्द्रले जनाएको छ। केही रगत रक्तदान कार्यक्रमहरूमार्फत संकलन हुन्छ।

नेपाल रेडक्रस सोसाइटी कैलालीले रगत अभावको समस्या बढ्दै गएकाले रक्त सञ्चार केन्द्रमा आएर रक्तदान गर्न वा रक्तदान कार्यक्रमहरू सञ्चालन गरी सहज आपूर्तिमा सहयोग गर्न सार्वजनिक अपिल गरेको छ। रेडक्रस कैलालीका सभापति वासुदेव बिनाडीले प्रेस विज्ञप्ति जारी गर्दै रगत आपूर्तिमा अहिले कठिनाइ भइरहेकाले रक्तदान गरेर जीवन दान दिन आग्रह गर्नुभएको छ।

बिरामीको संख्या बढ्दै जाँदा रगतको माग पनि दैनिक बढ्दै गएको, तर रक्तदान कम हुँदा आपूर्तिमा समस्या भइरहेको रेडक्रसले जनाएको छ। धनगढीका अस्पतालहरुमा बिरामीको चाप बढी हुने भएकाले रगतको खपत पनि यहाँ बढी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *