कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चितताका लागि अपनाउनुपर्ने आवश्यक मापदण्ड पूरा भएपछि नगरपालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको हो ।
नगरपालिकाका १५ महिनाभित्रका बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप पाएकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्णखोप सुनिश्चितताका लागि १६ देखि २३ महिनासम्म उमेर समूहका बालबालिकामा खोप अवस्थाको पहिचान र विश्लेषणको कार्य गरिएको छ ।
पूर्णखोप पाउने उमेर समूहका तीन हजार २८ बालबालिकामध्ये दुई हजार नौ सय ७८ बालबालिकाले पूर्णखोप पाएका छन् । बसाइँ सार्ने, मजदुरीका लागि टाढा जानेलगायत परिवारका ५० बालबालिका पूर्णखोप लगाउनबाट छुटेका छन् । इँटाभट्टालगायत मजदुरीमा संलग्न भारतीय परिवारका बालबालिकाले सङ्क्रामक रोगविरुद्धका खोप नलगाउने भएकाले यसबाट जोखिम बढ्दो रूपमा रहेको शाखा प्रमुख भट्टले बताउनुभयो ।
“खोपले विभिन्न सरुवा रोग लाग्नबाट बचाउँछ”, उहाँले भन्नुभयो, “बालबालिकालाई सरुवा रोगहरूबाट जोगाउन १२ प्रकारका क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्ल्युएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाइटिस, जापानिज इन्सेफ्लाइटिस र रोटा भाइरसविरुद्धको खोप लगाइने गरिन्छ ।”
सो अवसरमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले संविधानमानै आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा राखिएकाले खोप पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको बताउनुभयो ।
नगरप्रमुख रणबहादुर महराले सम्भावित महामारी रोक्नका लागि खोप कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । यस कार्यक्रमलाई अझै प्रभावकारी बनाई खोप लगाउनबाट छुटेका बालबालिकाको खोजी गरी पूर्णखोपको मात्रा दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
नगर उपप्रमुख कल्पना पन्तले खोप कार्यक्रम नगरपालिकाको आफ्नो कार्यक्रम भएकाले यसको सेवालाई सुदृढीकरण गर्न साझेदार निकायको सहभागितामा वृद्धि गर्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख बोहराले पूर्णखोप सुनश्चितता तथा दिगोपनाको प्रमाणपत्र नगरप्रमुख महरालाई कार्यक्रममा हस्तान्तरण गर्नुभयो । खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने स्वास्थ्यचौकी प्रमुखहरूलाई सोही अवसरमा प्रशंसापत्र प्रदान गरिएको थियो ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts