सिन्धुली । जिल्लामा ठुलो परिणामको अवैध लागुऔषध गाँजासहित एक जना व्यक्ति पक्राउ परेका छन् ।
जिल्लाको हरिहरपुरगढी गाउँपालिका–७ चिसापानीस्थित थोले ब्लोनको गोठबाट ६ क्विन्टल १५ के.जी गाँजासहित कुमार पाख्रिन पक्राउ परेका हुन् ।
उदयपुर जिल्लाको कटारी नगरपालिका–६ घर भई हाल हरिहरपुरगढी गाउँपालिका–७ चिसापानी बस्दै आएका ४६ वर्षीय पाख्रिनलाई आइबार विहान १ः३० बजेको समयमा अवैध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार इलाका प्रहरी कार्यालय, कपिलाकोटले चिसापानीका थोले ब्लोनको गोठमा बोरा तथा फलामको ड्रममा गाँजा लुकाई–छिपाई राखेको गोप्य सूचना प्राप्त गरेको थियो । बरामद अवैध लागुऔषध गाँजा र पक्राउ परेका पाख्रिन बारे थप आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
प्रहरी कार्यालयको तंथ्याङ्कअनुसार तीन वर्ष यता जिल्लामा लागु औषधसम्बन्धि एक सय ११ वटा मुद्धा दर्ता भएको छ । एक सय ४७ जना पक्राउ परेका छन् ।
चालु आर्थिक वर्षको हालसम्म प्रहरीले ८७४ किलो २४५ ग्राम गाँजा बरामद गरेको छ । अघिल्लो वर्ष ४२७ केजी ३२८ ग्राम गाँजा बराबद गरेको थियो ।
तीन वर्ष यता १७ विघा तीन कठ्ठाको गाँजा प्रहरीले फडाँनी गरेर नष्ट गरेको प्रहरी छ । लागुऔषध नियन्त्रणका लागि सिन्धुली प्रहरीले बेलाबेलामा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु समेत गदँै आएको छ ।






