काठमाडौं । रेमिट्यान्समा देखिएको सुधारलाई दिगो बनाउन वैधानिक तवरले थप डिजिटाइजेसनका लागि मिलेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा नेपाल मुद्रा विप्रेषक संघद्वारा आयोजित कार्यशालामा उनीहरूले यस्तो जोड दिएका हुन् । कार्यशालामा कार्यवाहक गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले रेमिट्यान्स आप्रवाह बढिरहेको र रेमिट्यान्सले अर्थतन्त्र सुधारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै वैधानिक तवरले रेमिट्यान्स भित्र्याउनर रेमिट्यान्सलाई डिजिटाइजेसनमा लैजान सबैले पहल गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि राष्ट्र बैंक संघसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेले रेमिट्यान्स क्षेत्रका प्रतिस्पर्धी संस्थाले एक आपसमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने र अनुमतिपत्र समयमै नवीकरण गराएर कारोबार नियमित गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो । रेमिट्यान्स क्षेत्रको विकास र सहजताका लागि राष्ट्र बैंक तयार रहेको उहाँको भनाइ थियो ।
राष्ट्र बैंक, गैर-बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले राष्ट्र बैंकले निर्दिष्ट गरेका नियम कानुन र सर्कुलरको परिधिभित्र रहेर काम गर्न आग्रह गर्नुभयो । नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाले स्वस्थ प्रतिस्पर्धा गरेमा रेमिट्यान्स बढ्न गई विदेशी मुद्रा सञ्चिति बढ्ने, रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाको आम्दानी बढ्न गई राजस्व योगदानमा समेत उल्लेखनीय वृद्धि हुने बताउनुभयो ।






