नवलपरासी । लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले उद्योगको प्रर्वद्धन र विस्तारका लागि प्रदेश सरकार कानुनी जटिलतालाई हटाउने प्रयासमा रहेको बताउनु भएको छ ।
उद्योग वाणिज्य संघ सुनवल आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै मन्त्री बस्नेतले उद्योग दर्ता र नवीकरणमा विशेष छुट सहितको व्यवस्थापनसहित मन्त्रालय अगाडि बढेको जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सरकार स्वरोजगार बनाउन नितिगत सुधार गर्दै अगाडि बढ्ने उल्लेख गर्दै मन्त्री बस्नेतले उद्योगी ब्यवसायीहरुका मागको आधारमा सिपमुलक तालीम संचालन गर्ने र तालीम प्राप्त व्यक्तिलाई प्रविधि हस्तान्तरण गरि स्वरोजगार बनाउने गरि बजेट निर्माण गर्ने मन्त्री बस्नेतले बताउनुभयो । त्यस्तै नितिगत सुधारको लागी उद्योगी र व्यवसायीहरु सँग छलफल गर्ने बताउँदै उद्योग दर्ता घरबाटै गर्नसक्ने व्यवस्थाको लागि मन्त्रालय अगाडि बढेको मन्त्री बस्नेतको भनाई छ ।
उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षता तथा सचिव तुलसीराम तिवारीको संचालनमा भएको कार्यक्रममा उद्योग बाणिज्य संघका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति महासंघ, बैकर्स संघ,प्याब्सन विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।






