जुम्ला । बर्षा नहुँदा खेतबारीमा समयमै खेतीपाति नहुँदा जुम्लाका किसानलाई सास्ती भएको छ । यहाँका किसानको यो याम भनेको खेतबारीमा कोदो लगाउनदेखी अन्य कृषि क्षेत्रमा रातदिन लाग्ने समय हो । तर समयमै वर्षा नहुँदा अहिलेसम्म खेतबारीमा कोदो लगाउन नसकेको तिला गाउँपालिका-१ का स्थानीयवासि किशोर रावतले जानकारी दिनुभयो ।
पानी परेको छैन खेतवारी सुक्का छन् । सिँचाइको कुनै सुविधा छैन । यो वर्ष असार लागेपनि खेतीपाती भएको छैन । गाउँमा खाद्यन्न संकट आउने अवस्थाको परिस्थित रहेको तिला गाउँपालिका स्थानीयवासि रावतको भनाइ छ ।
गतवर्ष समयमै पानी पर्दा कोदो र सिमीको उत्पादन राम्रो भएको थियो । यो वर्ष बर्षा नहुँदा खाद्यबालीमा निकै ह्रास आउने तिला गाउँपालिका स्थानीयवासि बताउनँछन् । असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका अन्यबाली नपसाउँदै सुक्न थालेकाछन्। विषेशगरी जिल्लाका किसानले हिउँदे याममा लगाएका नयाँ स्याउका विरुवालाई खडेरीले निकै क्षती गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ जुम्लाका कृषि अधिकृत खेमराज शाहीले जानकारी दिनुभयो ।
हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन नभएको हिमा गाउँपालिका– ४ का किसान रतन रोकायाको भनाइ छ । जिल्लाका अधिकाँश ठाउँमा सिँचाइ सुविधा पुगेको छैन । बर्षा नभएको खण्डमा यो वर्ष जिल्लामा खाद्यन्नबालीदेखी स्याउ उत्पादनमा धैरे कमी आउने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
जिल्लामा अहिलेसम्म १६ हजार घरधुरी स्याउ खेतीमा आबद्ध रहेको कार्यालयले जनाएको छ ।
जुम्ली किसानको मुख्य आयस्रोत नै स्याउ खेती हो । पछिल्लो समयमा स्याउ बीमाको महत्वबारे जानकार भएपछि जिल्लाका आठवटै स्थानीय तहका करिब ८० प्रतिशत स्याउ किसानले बीमा गरेको शिखर इन्सोरेन्स कम्पन्नी जुम्ला शाखाले जनाएको छ ।






