झापा । झापाका विभिन्न नदी तथा खोलामा आएको बाढी र पहिरोका कारण नौ घर विस्थापित भएका छन् । विस्थापित परिवारका ३१ जना छिमेकीको घरमा शरण लिएर बसेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । १० घर डुबानमा परेका छन् ।
कनकाई नदीमा आएको बाढीले गौरीगञ्ज गाउँपालिका १ को होकलबारीमा सडक बगाएको छ । जसका कारण आवागमनमा कठिनाइ भएको छ । साविक महाभारा झापाको बढी बाढी प्रभावित र जोखिम क्षेत्र हो ।
नेरेसो झापा सभापति लोकराज ढकालका अनुसार स्थानीय खोलाले कचनकवल गाउँपालिका ५ का श्रीमलादेवी राजवंशी, कात्तिकलाल राजवंशी, संजय राजवंशी र कुञ्जी राजवंशीको परिवार विस्थापित भएको हो । विस्थापित १३ जना उनीहरू कचनकवल ५ की वडासदस्य प्रभा राजवंशीको घरमा शरण लिएर बसेका छन् ।
बिरिङको बाढीले झापा गाउँपालिका ६ युवाटोलाका दिपक आचार्य, सीता दाहाल, प्रदीप सिंह र नवीन बराइलीको परिवार विस्थापित भएको हो । विस्थापित परिवारका १८ जना स्थानीय केदार श्रेष्ठको घरमा शरण लिएर बसेका छन् ।
उत्तर तर्फको अर्जुनधारा नगरपालिका २ को लाप्चेटारकी पुष्पा मगरको घरमा पहिरोले क्षति पुर्याएको छ । उनीहरूको परिवार सुरक्षित रहेको जनाइएको छ । टाङटिङ र गोयाङको बाढीका कारण अर्जुनधारा २ मदन भण्डारीमार्गका १० घर डुबानमा परेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।
हिजो रातिदेखि आज बिहानसम्म परेको पानीले उत्तर तर्फको जिल्ला इलाममा बाढीले असर गरेको जनाइएको छ । झापामा आज बिहान मुसलधारे पानी परेको थियोे । अहिले भने पानी रोकिएको छ ।






