नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा शिक्षकले मासिक रुपमा तलब (पारिश्रमिक) पाउने भएका छन् । सुस्ता गाउँपालिकाको १५ औं गाउँ सभामा बोल्दै अध्यक्ष टेकनारायण उपाध्यायले शिक्षकलाई मासिक रुपमा तलब दिने नीति ल्याइएको बताउनु भयो ।
बर्षमा ३ पटक प्रत्येक चौमासिकमा तलब खाँदै आएका शिक्षकले अगामी साउनदेखि मासिक रुपमा तलब खाने भएका छन् । सुस्ता गाउँपालिकाको शैक्षिक गुणस्तरको सुधारका लागि मासिक तलब खाने नीति ल्याइएको उपाध्यायले बताउनु भयो । "अहिलेको नीति तथा कार्यक्रममा हामीले शिक्षालाई विशेष प्राथमिकता दिएका छौँ । मासिक तलब पाउँदा शिक्षकहरु खुसी हुनुहुन्छ । उहाँहरुको खुसीले नतिजा राम्रो आउने अपेक्षा गरेका छौँ ।" उपाध्यायले भन्नुभयो ।
सुस्ता गाउँपालिकाले विद्यालय सुधार गर्ने भन्दै " विद्यालय बढाऔँ, विद्यालयमै पठाऔँ" माया छ उस्तै आमाको विद्यालय घर जस्तै मामाको" जस्ता अभियानहरु सन्चालन गरिने नीति ल्याएको छ । आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकलाई उत्प्रेरित गर्ने मासिक तलबको ब्यवस्थापन गर्न लागिएको सुस्ताका प्रमुख प्रशासकीय अधिकृत हुमनाथ भुसालले बताउनु भयो ।
शिक्षक संघका जिल्ला अध्यक्ष भोजराज चापागाईंले शिक्षकहरुको महत्त्वपूर्ण माग सुस्ता गाउपालिकाले सम्बोधन गरेको उल्लेख गर्नु भयो । " नेपाल शिक्षक संघ नवलपरासीले शिक्षकले मासिक रुपमा तलब (पारिश्रमिक) पाउनु पर्ने माग राखेका थियौं । जुन सम्बोधन भएको छ , राम्रो नीति आएको छ, कार्यान्वयन होस् ।" संघका अध्यक्ष चापागाईंले भन्नुभयो । सुस्ता गाउँपालिकाले जस्तै नवलपरासीका अन्य पालिकाले पनि मासिक रुपमा तलब खाने ब्यवस्था मिलाउनु पर्ने चापागाईंको भनाइ छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता