भोजपुर । अलैचीको बजारीकरण र समस्याका बिषयमा भोजपुरका अलैची कृषकहरुसँग अभिमुखीकरण भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यालय इकाईसँगको सहकार्यमा उद्योग बाणिज्य संघ भोजपुरले मंगलवार अभिमुखीकरणको आयोजना गरेको हो । जिल्लाका व्यवसायिक अलैची उत्पादन गर्दै आएका कृषकहरुसँग अलैचीको बजार प्रवद्र्धनबारे अभिमुखीकरण भएको उद्योग बाणिज्य संघ भोजपुरका महासचिव नवीन प्रधानले बताउनुभयो ।
कार्यक्रममा अलैची खेतीमा देखिएको समस्या, उत्पादनको अवस्था, रोग लगायतका बिषयमा समेत छलफल गरिएको थियो । सोक्रममा कृषकहरुले रोग र किराका कारण बगान मासिदै आएको, प्राबिधिक सहयोग कम पाएको, माटो परीक्षण हुन नसकेको, मुल्यमा गिरावट आउने गरेको लगायतका गुनासाहरु राख्नु भएको थियो । प्रत्येक वर्ष मुल्य घट्दै जाँदा मर्का पर्नुको साथै उत्साह पनि मर्दै गएको बताउँदै कृषकहरुले अलैचीको उचित मुल्य निर्धारणका लागि सरकार वा सरोकारवालाहरुले विशेष चासो दिनुपर्ने माग समेत गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका तर्फबाट कौशिला बिष्टले अलैची र सुन्तालाको क्षेत्रमा परियोजनाले काम गर्दे आई रहेको बताउनुभयो । उहाँले परियोजनाको ८५ प्रतिशत र उद्योग बाणिज्य संघको १५ प्रतिशत लागतमा प्रशोधन सम्वन्धी कार्यक्रम संचालन गरिने पनि बताउनुभयो । कृषकहरुले पनि गुणस्तरीय अलैची उत्पादन गर्न सकेमा बजारी र मुल्यमा सहजता हुने बताउँदै बिष्टले भोजपुरको अलैचीलाई चिजाउन जरुरी रहेको बताउनुभयो ।
उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले उत्पादित बस्तुहरुलाई प्रशोधन सहित बजारीकरण गर्न जरुरी रहेको बताउनुभयो । बाहिरी मुलकको भर पर्नु भन्दा पनि उत्पादित अलैची आफनै ठाउँमा प्रयोग गर्न सकिने पनि अध्यक्ष मोक्तानले बताउनुभयो । “बाहिरबाट आएका बिभिन्न मसलाजन्य सामाग्रीहरु हामीले प्रयोग गर्दे आई रहेका छौ, त्यसको सट्टामा आफैले उत्पादन गरेको अलैची पनि प्रयोग गर्न सकिएमा, त्यसको खपत पनि बढछ ।” अध्यक्ष मोक्तानले भन्नुभयो ।
कृषकहरुका बीचमा पनि एकता जरुरी रहेको बताउँदै अध्यक्ष मोक्तानले गुणस्तरी अलैची उत्पादन गर्न सकेमा बजारीकरणमा पनि सहजता हुने बताउनुभयो ।






