झापा । हावाहुरी र वर्षासँगै परेको चट्याङले झापाका अलगअलग स्थानमा चौपाया मर्नुका साथै भौतिक सम्पत्तिमा क्षति भएको छ ।
चट्याङले मेचीनगर नगरपालिका ३ भावनाटोलका योगेन्द्र भट्टराईका एक हल राँगा ठहरै भएका छन् ।
राँगा डेढलाख मूल्य बराबरको भएको पीडित भट्टराईले बताउनुभयो । गोठमा सँगै बाँधेको माउ भैँसीलाई पनि चट्याङ लागेको छ । भैंसी घाइते भएको छ । भैँसीको करङ जलेको छ ।
त्यस्तै चट्याङले गौरादह नगरपालिका १ का केदार भूजेलको दुईवटा चौपाया मरेका छन् ।
यस्तै, कमल गाउँपालिका १ रतनचौनमा रहेको गोठमा बाँधेका एक माउ गाई र एउटा गोरू मरेको छ । भूजेलको एक लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
त्यस्तैगरी चट्याङले बिर्तामोड नगरपालिका ९ नडियाबारीका झालो राजवंशीको घरको इलेक्ट्रोनिक्स जलेको छ । बिजुलीको मिटरबक्स, टिभी, फ्रिज र राउटर जलेको छ ।
राजवंशीको एक लाख रुपैयाँभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । जिल्लामा अहिलेसम्म कुनैपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।






