
भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरको अधिकांश ग्रामिण सडकहरु व्यवस्थित नहुँदा हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे हुनेहुँदा जिल्लावासीले सहज यात्रामा सास्ती खेपिरहनु परेको छ । दुई घण्टामा सदरमुकाम आईपुग्ने सडक वर्षात समयमा पार गर्न नसकिने हुँदा तीन जिल्ला घुमेर दिनै माया मारेर आउनु पर्ने बाध्यता छ ।
बर्षात नहुदाँ दुई घण्टा लाग्ने भोजपुरको उत्तरी षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला पुग्न वर्षात सुरु भएपछि दिनै माया मारेर तीन जिल्ला घुम्नु पर्ने बाध्यता छ । तर अहिले भोजपुर–तिनतले–दिङला सडक खण्डमा कालो पत्रेको काम सुरु भएपछि जनताले खेप्दै आएको सास्ती तथा समस्या हट्ने आशा गरिएको भोजपुर नगरपालिका वडा नम्वर ५ का स्थानीय मचिन्द्र राईले बताउनुभयो । राईले भन्नुभयो, “सडक राम्रो नहुदाँ संखुवासभाबाट धनकुटाको लेगुवा हुदै भोजपुर आउनु पर्छ, सडक बन्दा यो दुई घण्टाको बाटो हो ।”
भोजपुर नगरपालिका वडा नम्वर ९ को पानीटंयाकीबाट–तीनतले जोडने साढे १७ किलोमिटर सडकको काम ५८ करोडमा रायमाझी मार्सेली जेभी र तीनतलेबाट दिङलासम्म साढे ३३ किलोमिटर ६३ करोडको लागतमा बाँनिया निर्माण कम्पनीले ठेक्का सम्झौता गरी सडक निर्माणको काम अघि बढाएको छ ।
१७ किलोमिटरको ठेक्का पाएको रायमाझी मार्सेली जेभीले अक्सपाल्ट प्रविधिको कालेपत्रे ठेक्कामा तोकिएको समय अघि नै सम्पन्न गरी सरकारलाई बुझाउने गरी काम गरिरहेकोे छ । सडकको जिम्मा पाएको रायमाझी मार्सेली जेभीका निर्माण ब्यवसायी श्याम श्रेष्ठले तोकिएको समय भित्र सडकको निर्माण कार्य सम्पन्न गर्ने गरी काम भई रहेको बताउनुभयो । “बन्दै गरेको सडक जिल्लाको उत्तरी क्षेत्रको लाइफलाइन भएकाले यसलाई समयमै सम्पन्न गराउन र गुणस्तरीय काम गराउन प्रतिबद्ध भएर लागेको छु ।” निर्माण ब्यवसायी श्रेष्ठले भन्नुभयो । आगामी माघ मसान्तसम्ममा काम सक्ने गरी अहिले काम भई रहेको निर्माण ब्यवसायी श्रेष्ठको भनाई छ ।
सडक निर्माणमा अहिले कटिङ, साइड क्लीयरेन्स, चौडा पार्ने, ग्यावीन र रिटेनिङ वाल लगाउने, नाली बनाउने, सडक कटिङ, ग्रेडिङ तथा साइड क्लीयररेन्स लगायतका कार्यहरु भईरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । पूर्वाधार बिकास कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले सडक निर्माणको कामलाई गुणस्तरीय र प्रभावकारी बनाउन अनुगमनको कार्यमा पनि तिब्रता दिईएको बताउनुभयो । उहाँले प्रदेशको योजना भएकाले यसलाई सफल बनाउन आफुहरु लागि रहेको बताउनुभयो ।
सडक कालोपत्रे भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई सदरमुकाम आउन र जान सहज हुनेछ भने छिमेकी जिल्ला संखुवासभाका नागरिकहरूलाई पनि भोजपुर हुदै काठमाडौँ आवत जावतमा सहजता हुनेछ । जिल्लामा ठुलो लागतमा निर्माण भईरहेको सडकको गुणस्तरीयताका लागि निरन्तर अनुगन गर्ने कार्य भई रहेको भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले बताउनुभयो । नगर प्रमुख आलेले भन्नुभयो, “सडकलाई गुणस्तरीय बनाउन अनुगमन सहित स्थानीय तहहरुले पनि सहयोग गरी रहेको छ ।”
सडक निर्माणको कार्य तीब्र गतिमा भई रहेकाले नागरिकले पाएको दुख यो बर्षबाट अन्त्य हुनेमा आफुहरु आशावादी रहेको साल्पासिलिछो गाउँपालिका वडा नम्वर ५ का तेन्जी शेर्पाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच