हेटौंडा । सामाजिक सुरक्षा भत्ताको लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मकवानपुरमा परिचयपत्र बनाउनेको भिड बढेको छ। सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने नियम बनाएपछि परिचयपत्र बनाउन विशेष गरी ज्येष्ठ नागरिकले सास्ती पाएका छन् । शारीरिक रुपमा अशक्त बनिसकेका ज्येष्ठ नागरिकले परिचयपत्र बनाउन दिनभर लाइन लाग्दासमेत पालो नपाउनाले हैरानी बेहोरेका हुन् ।
मकवानपुरको कैलाश गाउँपालिका ७ कि ८१ वर्षीया फूलमाया प्रजाले बिहान ७ बजे देखि लाइन बस्दा पनि पालो नपाएको भन्दै निराशा पोख्नुभयो । ‘राम्ररी हिँडडुल गर्न पनि नसक्ने भइसकेँ, बिरामी पनि छु । यहाँ दिनभर पालो कुरेँ अझै काम बनेन ।’ उहाँले गुनासो गर्नुभयो ।
हेटौंडा वडा नम्बर १ नकौलीकी ७१ वर्षीया सुनमाया स्याङ्ताङले पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ३ दिन धाएपछि बल्ल आज बिहीबार राष्ट्रिय परिचयपत्रको काम बनेको बताउनुभयो । वडा कार्यालयमै राष्ट्रिय परिचयपत्रको काम भए आफूहरुले यति धेरै सास्ती खेप्नु नपर्ने ज्येष्ठ नागरिकको भनाइ छ । जिल्ला भित्रै पनि टाढादेखि धाएर आउनपर्ने अशक्त ज्ेष्ठ नागरिकले परिचयपत्र बनाउन निकै कष्ट बेहोर्नुपर्ने अवस्था छ ।
राष्ट्रिय परिचयपत्र शाखाका कम्प्युटर अपरेटर आशिष पौडेलका अनुसार, सामाजिक सुरक्षा भत्ता र राहदानीको लागि परिचयपत्र अनिवार्य गरेपछि कार्यालयमा भिड बढेको छ । परिचयपत्र बनाउन दैनिक ५ सय जना आउने गरेकामा २ सय जनाको काम बन्ने गरेको र बाँकी ३ सय फर्केर जाने गरेको उहाँले बताउनुभयो ।
मकवानपुरमा केही दिनअघि मात्र सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले राष्ट्रिय परिचयपत्र लिनका लागि लामो लाइन बस्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै लैजाने प्रतिवद्धता जनाउनु भएको छ । कार्यालयमा कर्मचारीको अभाव भएको कारण पनि व्यवस्थापनमा समस्या भएको उहाँले बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र बनी आइसकेका थुप्रै कार्डहरु कार्यालयमै थन्किएर बसेका छन् । कार्ड लिन आउनेको संख्या भने एकदमै न्यून रहेको बताइएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts