झापा । झापासँग सीमा जोडिएको मोरङको उर्लाबारीमा निर्माणाधीन घरको छतबाट खसेर बुधबार एकजना मजदुरको मृत्यु भएको छ ।
जेनिस लिम्बुको निर्माणाधीन घरको दोस्रो तलाबाट लडेर उर्लाबारी नगरपालिका २ का ४८ वर्षीय सनिकुमार श्रेष्ठको मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ । घटना भएको स्थान झापा दमकको कृष्ण मन्दिर पश्चिम पर्छ ।
घर ढलानमा प्रयोग गरिएको सेफ्टी खोल्ने क्रममा श्रेष्ठ अचानक लडेर गम्भीर घाइते भएका थिए । श्रेष्ठलाई तत्काल उपचारका लागि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर उर्लाबारी मंगलबारे लगिएको थियो । अवस्था गम्भीर देखेपछि चिकित्सकले तत्काल अन्यत्र लान सुझाएका थिए ।
थप उपचारका लागि विराटनगर लगिएको थियोे । आर्या न्युरो अस्पताल विराटनगर पुर्याउनसाथ चिकित्सकले श्रेष्ठलाई मृत घोषित गरेका थिए ।






