रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपलिकामा बालमैत्री स्थानिय शासनको दिगोपनाका लागि पञ्चबर्षीय आवधिक लगानी योजना निर्माण सम्बन्धी संयुक्त कार्यशाला गरेको छ।
नगरपालिकाले घोषणा पश्चात् दीगोपनाको लागि पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । ५१ सूचक पुरागरि नेपालकै पहिलो बालमैत्री घोषणा गरेको नगरपालिकाको रणनीतिक योजना तर्जुमा समितिले बाल बचाउ, संरक्षण, विकास, सहभागिता र संस्थागत सम्वन्धमा पाँच वर्षे (२०८१/८२ देखि २०८५/८६) रणनीति योजना तयार गरी नगरपालिकामा बुझाएको हो ।
बालमैत्री नगरसमितिका पदाधिकारी, कार्यपालिका सदस्य, पालिकास्तरका बालसञ्जालका पदाधिकारीहरु, पालिकास्तरका बाल संरक्षण तथा समन्वय समितिका पदाधिकारी, बालमैत्री सहयोग समिति र कर्मचारीहरुको सहभागितामा सञ्चालन भएको गोष्ठीबाट व्यापक छलफल गरी रणनीतिक योजना तयार भएको बालमैत्री शाखाका प्रमुख अधिकृत शारदा भट्टराईले बताउनु भयो ।
नेपाल सरकारले राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा गरेको प्रतिवद्धता अनुसार नगरपालिकाले बालअधिकार सुनिश्चित गर्दै भविष्यमा समाज र राष्ट्रका लागि सक्षम नागरिक निर्माण गर्ने उद्धेश्य स्वरुप बालमैत्री कार्यक्रमका लागि दीर्घकालिन योजना बनाइएको बालमैत्री नगरसमितिका संयोजक तथा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताउनु भयो ।
बालअधिकारका चार क्षेत्रहरु बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार सहभागिताको अधिकारलाई संस्थागत गर्नको लागि रणनीतिक योजना तयार गरिएको नगर उपप्रमुख जागेश्वर देवी चौधरीले बताउनुभयो ।
पाँच वर्षे रणनीति योजना बालमैत्री स्थानीय शासन समिति मार्फत नगरकार्यपालिकामा पेश भई छलफल, परिमार्जन सहित आगामी नगरसभामा पेश गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनु भयो । उहाँले दिगोपना र थप गुणस्तरीय बालमैत्री वातावरण निर्माणको लागि आफुहरु निरन्तर लाग्ने बताउनु भयो ।
बालमैत्री स्थानीय शासनका लागि कार्यविधिमा उल्लेख भएका ५१ सूचकका ५ खुड्किलामा टेकेर नगरपालिकाले बालबालिकाको क्षेत्रमा विशेष लगानी गर्दै आएको नगरपालिकाले गोष्ठीमा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य, बालमैत्री राष्ट्रिय अभियानका प्रशिक्षक बिष्णु बहादुर चौबे, स्थानिय संस्थागत तथा सामुदायिक विद्यालय प्रतिनिधी, स्वास्थ्य शाखाका प्रतिनिधी , सरोकारवाला, जनप्रतिनिधी मार्फत वडाका बालमैत्री फोकल पर्सन, वडा बाल संजालका प्रतिनिधी, र नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको बालमैत्री शाखाका प्रमुख अधिकृत शारदा भट्टराईले बताउनु भयो ।







