गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकाले १८ आमाहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले निर्धारण गरेको स्वास्थ्यका २० सूचक पूरा गर्ने गाउँपालिका भित्रका छ वटै वडाबाट तीन/तीन जना स्मार्ट आमाहरु छनोट गरी सम्मान गरिएको बताइएको छ ।
निर्धारित सूचकहरुमा कम्तिमा ५६ देखि १०० अंक प्राप्त गर्ने १८ जना स्मार्ट आमाहरुलाई सम्मान गरिएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले बताउनुभयो । प्रत्येक सूचकमा पाँच अंक निर्धारण गरिएको छ । स्वास्थ्य क्षेत्रमा मैत्रीपूर्ण सेवा प्रवाहका लागि कार्ययोजना बनाएर अगाडि गाउँपालिका बढेको भन्दै सुनौला हजार दिनका आमाहरुको मनोबल वृद्धि गर्नुका साथै आमा र बच्चालाई स्वास्थ्यसंग जोड्ने उदेश्य रहेको उहाँले बताउनुभयो ।
स्मार्ट आमा सम्मानित कार्यक्रमले अन्य आमाहरुलाई पनि स्मार्ट आमा बन्न प्रेरणा प्रदान गर्ने भएको छ । यस कार्यक्रमले बाल मृत्युदर घटाउन सहयोग गर्ने बताइएको छ । छत्रकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा निकै महत्त्वपूर्ण कार्यक्रमहरु गर्दै आएको भन्दै प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले स्मार्ट आमा सम्मान, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मानजनक बिदाई तथा निवृत्तिभरण, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका सुनिश्चितता तथा दिगोपना घोषणा, पूर्ण संस्थागत प्रसुती सुनिश्चितता तथा दिगोपना घोषणा र किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गर्ने गरिएको बताउनुभयो ।
गाउँपालिकाले स्मार्ट आमा कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले छत्रकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा जिल्लामै नयाँ कार्यक्रम भएको बताउनुभयो । स्वास्थ्य संस्थामा सुत्केरी गराउन आग्रह गर्दै उहाँले यस गाउँपालिकाका वर्थिङ सेन्टरहरुको अवस्था राम्रो रहेको बताउनुभयो । यहाँका सबै आमाहरुलाई स्मार्ट आमा बनाउने तर्फ गाउँपालिका लाग्न जरुरी रहेको उहाँको भनाइ छ ।
समृद्ध गाउँपालिका निर्माणको लागि स्वास्थ्यको क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । सम्पूर्ण आमाहरुलाई स्मार्ट बनाउन गाउँपालिका तयार रहेको भन्दै स्मार्ट आमा पहिचान गर्ने र सम्मान गर्ने कार्य गरिएको उहाँले बताउनुभयो । गुणस्तरीय सेवा प्रवाहका लागि गाउँपालिका लागिपरेको भन्दै गत वर्षदेखि स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
स्मार्ट आमाका रुपमा सम्मानित हुनुभएका १८ जना आमाहरु अत्यन्तै खुसी हुँदै गाउँपालिकाले स्वास्थ्यको क्षेत्रलगायतका विभिन्न कामको प्रसंशा गर्नुभयो । गाउँपालिकाले सञ्चालन गरेको स्मार्ट आमा कार्यक्रम मार्फत गर्भदेखि बच्चा नहुर्किदनसँम्म बच्चालाई कसरी स्याहार गर्ने भन्ने विषयमा जानकारी गराइएको उहाँहरुले बताउनुभयो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts