जुम्ला । सरकारले मंगलबार संघीय सभामा प्रस्तुत गरेको बजेटमा जुम्लाको मार्सीधानलाई विश्व बजारसम्म प्रवर्द्धन गर्नका लागि बजेटमा समावेश गरिएको छ । तर माथिल्लो कर्णालीका लागि खासै नयाँ कार्यक्रम बजेटमा आएको छैन । यहाँका स्थानीयवासिको एकमात्र माग हो कर्णाली राजमार्ग र पर्यटनको आकर्षण गन्तव्य मानिने रारा तालसम्म जाने नाग्म गमगडी सडक पुरै कालोपत्र । यसका लागि बजेट भाषणमा बजेट पारित गरेको कतै पनि सुनिएन । सरकारले कर्णालीमा अपेक्षित रुपमा बजेट विनियोजन गर्न नसकेको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिनुभयो ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६ अर्ब ३ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्दा जुम्लाको हिमा र तिला आसपासको क्षेत्रलाई मार्सीधान करिडोर विकास गर्ने नयाँ परियोजना समेटेको छ ।
हिमाल समृद्धि कार्यक्रमअन्तर्गत हिमाली क्षेत्रमा भेडा, च्यांग्रा, चौरीलगायतको पशुपालन र स्याउ ओखर, जडीबुटीका फार्म सञ्चालन गर्ने तथा कर्णाली प्रदेशको कृषि र वन पैदावरमा आधारित समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख गरिएको छ । त्यस्तै कर्णालीका दसवटै जिल्लामा संचालन हुने एकीकृत सिँचाइ विकास आयोजनाका लागि ८२ बजेट छुट्याएको छ ।
अर्थमन्त्री पुनका अनुसार हवाई यातायातका क्षेत्रमा सुर्खेत र जुम्ला विमानस्थलको स्तरोन्नति गरिने बजेटमा पारित गरिएको छ । कर्णाली एकीकृत सिँचाइका लागि ८२ करोड विनियोजन गरिएको छ । कर्णालीमा कृषि र वन पैदावारमा आधारित समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम सञ्चालन गरिनेछ ।






