काठमाडौं । सरकारले काभ्रेपलाञ्चोकको बनेपामा फिल्म छायांकन स्टुडियोको निर्माण सुरु गर्ने जनाएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताउनुभएको हो ।
दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण गरिनेसमेत उहाँले बताउनुभयो । यस्तै भाषा, साहित्य, दर्शन, संस्कृति, कला, संगीत र नाट्यलगायत अमूर्त संस्कृति क्षेत्रको विकास र प्रबद्र्धन गरिने घोषणा गर्दै प्रतिलिपि अधिकारको संरक्षण गर्नेसमेत अर्थमन्त्री पुनले बताउनुभयो । ‘प्रतिलिपि अधिकारको संरक्षण गरिने र नियमन गरिनेछ’, पुनले भन्नुभयो ।
कार्यक्रम कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सात अर्ब ३५ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताउनुभयो । सरकारले काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिका-१० र १३ अन्तर्गत बाहुनडाँडा सामुदायिक वनको जग्गामा फिल्म स्टुडियो निर्माण गर्न दिने निर्णय गरेपछि जिल्ला वन कार्यालयले चलचित्र विकास बोर्डलाई जग्गाको स्वामित्व प्रदान गरिसकेको छ ।
फिल्म सिटीका लागि मौरिसस र चिनियाँ लगानीकर्ताले चासो देखाइसकेका छन् । यी दुवै कार्यक्रम नयाँ भने होइनन् । यसअघिका सरकारले पनि बजेटमा समावेश गरेका थिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता