भोजपुर । पहाडी जिल्ला भोजपुरमा सात हजार बढी बालबालिकाहरुलाई पोलियो बिरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्ला भित्रका सात हजार छ सय १५ बालबालिकालाई पोलियो बिरुद्धको आईपिभी खोप लगाईने छ ।
भोजपुरमा जिल्लामा आगामी जेठ २३ देखि २५ गतेसम्म पोलियो विरुद्धको खोप अभियान संचालनको तालिका बनाईएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु श्रेष्ठले बताउनुभयो । स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामा २०७३ भाद्रदेखि २०७५ असोज महिना भित्र जन्मिएका सबै बालबालिकाहरुलाई पोलियो विरुद्धको आईपिभी खोप लगाईने छ ।
स्वास्थ्य कार्यालयले मंगलवार आईपिभी खोप अभियानका बिषयमा जिल्ला खोप समन्वय समितिका पदाधिकारी, क्रियाशिल संचारकर्मी र सरोकारवाला बीच समन्वयात्मक बैठक गर्दे अभियानकारुपमा जिल्ला तहमा संचालन हुने खोप कार्यक्रम प्रभावकारी बनाउन आग्रह गरेको हो ।
सुई मार्फत दिईने पोलियो विरुद्धको खोप (आइपिभी) २०७३ भाद्र देखि २०७५ असोजसम्म नेपालमा आपूर्ति बन्द भएको कारण उक्त उमेर समुहका बालबालिकालाई खोप लगाउने अभियान राखिएको हो । खोप केन्द्रहरु बिद्यालयमा निर्धारन गरिएको छ ।
मुखबाट खुवाइने पोलियो विरुद्धको खोप (ओपिभी) को परिपुरककोरुपमा २०७१ असोजबाट नेपालमा सुईबाट लगाइने पोलियो विरुद्धको खोप (आईपिभी) लगाउन शुरु गरिएको थियो । पाँच बर्ष मुनिका बालबालिकालाई पोलियोको जोखिम बढी हुने र पोलियो लागेमा बालबालिकामा पक्षघातको जोखिम देखिने स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।






