दाङ । एका बिहानै करिब डेढदर्जन जति क्यामेरामेन आइपुग्छन् । प्युठान नौबहिनी गाउँपालिकाबाट फोटो सेसनका लागि आइपुगेका सपना र बिमल होस या सल्यानबाट झरेका जोडी या स्थानिय सवैलाई गुलमोहरको मनमोहक दृश्यले तानेको देखिन्छ ।
करिब एक महिना पुग्नै लागेको छ, गुलमोहर फुलेको । गुलमोहरको मनमोहक दृश्यमा आफूहरू जोडिन चाहन्छन्, उनीहरू । उनीहरू आई नपुग्दै फोटो सुट लिने क्लाइन्ट भेला भइसकेका हुन्छन् । युवा पे्रमिल जोडीका साथ, आमाहरू नानी बोकेर, अधबैँसेहरू मेकअप गरेर अनि बृद्धबृद्धा समेत अचेल यही क्षेत्रमा केही समय कटाउँछन् । यो क्षेत्र हो, घोराहीको मुख्य बजारमा रहेको जिसस रोड । ‘फूलैफूल दिन्छौं कि काँडैकाँडा दिन्छौ कि मत फूलै रोज्ने हो ‘’ यस्तै गीतमा भिडिओ सुटिङ भइरहेको छ । यदि केही आनन्द, केही खुसी, केही उत्साह र केही जाँगरको अनुभूति गर्नु छ भने पहिलो गन्तव्य यही बनेको छ । जहाँ भूइँभरि गुलमोहरका फूलका पत्र छरिएका छन् । रुख राताम्मे छन् । राताम्मे गुलमोहरमा तस्बिर कैद गर्नेहरू पनि उत्तिकै उत्साहित देखिन्छन् ।
ढकमक्क फुलेका एक दर्जन जति गुलमोहरका बोटमुनि तस्बिर खिचाउन करिब एक महिनादेखि त्यत्तिकै सङ्ख्यामा क्यामेराम्यान आइरहेका छन् । क्यामेराम्यानको बिहानको खाजा, खाना पनि यही क्षेत्रमा हुने गरेको छ । ‘कहिलेकाहीँ त दिनमै १२ हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो तर यसपालि भने त्यति धेरै आगन्तुक नआएजस्तो लाग्छ’, एक जना क्यामेराम्यान तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरका कर्ण परियारले भन्नुभयो । तैपनि कुनै दिन खाली हात फर्कनु परेको छैन । ती क्यामेराम्यानले खिचाएका फोटो र भिडिओ सम्बन्धित व्यक्तिकै मोबाइलमा राखिदिने रहेछन्, तत्कालै ।
त्यसो त सरकारले टिकटक बन्द गरेपछि यो क्षेत्रको गुलमोहर पर्यटनमा पनि धक्का लाग्यो । जिसस रोडमै होटेल व्यवसाय गरेर बसेका एक जना साहुजी भन्छन्, ‘टिकटक ब्यान्ड नगर्दासम्म त कति भिड हुन्थ्यो कति, यो सडकमा सवारी साधनलाई बाटो छिचोल्नै मुस्किल हुन्थ्यो । कास्कीदेखि चितवनसम्मका मान्छे आउँथे, यहाँ यो फूलैफूलको सुन्दरता हेर्न ।’
पछिल्लो समयमा जिसस रोड गुलमोहर टुरिजम क्षेत्रका रूपमा प्रख्यात हुन थालेको छ ।
स्थानीयको प्रचार प्रसार भन्दा पनि सूचना प्रविधिको सहज पहुँचका कारण जिल्ला बाहिरका नागरिकले पनि आफ्ना सामाजिक सञ्जालमा गुलमोहरको बुटमुनि खिचेका तबिर पोस्ट गरिरहेको देखिन्छ । जिल्ला समन्वय समिति परिसरमा रोपिएका गुलमोहरको सौन्दर्यता मात्रै नभएर जिल्ला समन्वय समिति भित्रको फूलैफूलको बगैँचाले पनि फूल प्रेमीलाई तानिरहेको छ । त्यसो त गुलमोहर फूलको आकर्षण बढ्दै गएपछि गत सालदेखि जिल्ला समन्वय समितिले पनि आफ्नो कार्यालय परिसर क्षेत्रमा थप गुलमोहरका विरुवा रोप्न थालेको छ । ‘फूलप्रति नागरीक मोह बढिरहेको सन्दर्भमा हामीले गुलमोहर पर्यटनलाई थप आकर्षक बनाउन फेरि पनि बिरुवा रोपेका छौं’, जिल्ला समन्वय समितिका समन्वय अधिकारी मोहन सुवेदीले भन्नुभयो । उहाँको बुझाइमा सायद मुलुकभरमा दाङ जिल्ला समन्वय समिति नै फूलैफूलको बगैँचा जस्तो छ । करिब चारदशक अघि रोपिएका गुलमोहर बुढा हुँदै जान थालेपछि यसको सुन्दरतालाई निरन्तरता दिन गत असारमा थप एक दर्जन गुलमोहरका बिरुवा रोपिएको जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले बताउनुभयो ।
कहिले रोपिए जिससमा गुलमोहर ?
जिल्ला समन्वय समितिमा यसको अफिसियल विवरण त छैन । तैपनि जानकारका अनुसार वि.सं २०४३ को वर्षमा यहाँ करिब ५० जति गुलमोहर रोपिएका थिए तर त्यो बेला स्याहारसुसारको अभाव हो वा हावा पानीले साथ दिएन । करिब एक दर्जन मात्रै बिरुवा सप्रिए । तत्कालीन जिल्ला विकास समितिको नयाँ भवन वि.सं २०४२ मा निर्माण सम्पन्न भयो ।
त्यसलाई काठका पोलमा काँडेतार लगाएर कम्पाउण्ड बनाइएको थियो । तत्कालिन जिल्ला सभापति खिमबहादुर शाहका पालामा यो क्षेत्रमा गुलमोहरका बिरुवा रोपिएको त्यसबेलाका कर्मचारी ऋषिराज जङ्गलीले बताउनुभयो । 'म त्यो बेला जिल्ला पञ्चायत कार्यालयमा कर्मचारी थिएँ । हामी भ्रमणका क्रममा बुटवलको त्यसबेलाको ट्राफिक चोकको सडकको वल्लो पल्लो किनारामा गुलमोहर ढकमक्क फुलेको देख्यौँ । त्यसको रिपोर्टिङ जिल्ला सभापति खिमबहादुर शाहलाई ग-यौँ, उहाँ राजी हुनुभयो र हामीले जिल्ला वन कार्यालयबाट गुलमोहरका बिरुवा ल्याएर यस प्राङ्गणमा रोपेका थियौँ’, जङ्गलीले भन्नुभयो, ‘त्यो बेला जिल्ला वन कार्यालयका प्रमुख यमबहादुर थापा थिए ।’ यहाँ बिरुवा नभएका कारण वनले अन्यत्रैबाट यी विरुवा मगाइदिएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता