
म्याग्दी । म्याग्दीमा पछिल्लो समय चौतारी निर्माण र संरक्षणमा युवा पुस्ताको चासो बढ्दै गएपछि पाको पुस्तामा खुसीयाली छाएको छ ।
जिल्लाका बेनी नगरपालिका लगाएत मंगला,मालिका, अन्नपूर्ण,रघुगंगा र धौलागिरि गाउँपालिकाका युवाहरुले यहाँ रहेका पुराना चौतारीहरुको संरक्षणका साथै नयाँ चौतारीहरु निर्माण गर्न थालेपछि पाकोपुस्ता पुरानो विरासतको संरक्षण हुन लागेकोमा खुसी भएका हुन् ।
चौतारी संरक्षण र निर्माण अभियानमा यहाँका युवाहरुका साथै जनप्रतिनिधिहरु पनि खटिन थालेका छन् । कतिपय वडा कार्यालयहरुले बजेट नै पारेर आफ्नो क्षेत्रमा रहेका पुराना चौतारीहरुको पुनःनिर्माण र आवश्यक ठाउँमा नयाँ चौतारी निर्माण कार्य गरिरहेका छन् ।
जिल्लाको बेनी नगरपालिका वडा नं ६ अर्थुङ्गे ,वडा नं ७ बेनी,वडा नं २ ज्यामरुककोट, वडा नं १ रत्नेचौर लगायत मंगला, मालिका, धौलागिरि,रघुगंगाा र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिहरुसमेत चौतारी निर्माण र संरक्षण अभियानमा जुटेका स्थानीयले बताएका छन् ।
यसैक्रममा मंगला गाउँपालिका–२,खुम्लियामा सातदशक अगाडी बनेको चौतारी पुनःनिर्माण तथा संरक्षण अभियानमा स्थानीय खुम्लिया यूवा क्लव जुटेका छन् ।
बेनी–दरबाङ सडक अन्तरगगत सिम–कुहुँ–टोड्के जोड्ने सडकखण्डको खुम्लियामा रहेको पिपलको रूख सुकेपछि प्रयोगविहिन बनेको चौतारीलाई नयाँ स्वरुपमा मर्मत तथा बर–पिपल रोपण गरिने भएको हो ।
तत्कालिन समयमा भरिया र बटुवा, घाँसदाउराका लागि बनजंगलमा जाने स्थानीयबासीलाई लक्षित गरी स्वर्गीय टेकबहादुर घर्ती मगरद्धारा निर्मित चौतारी सडक सञ्जालको विस्तार र उचित संरक्षणको अभावका कारण पिपल सुकेपछि चौतारी समेत जिर्ण भएको खुम्लिया यूवा क्लवका उपाध्यक्ष तेजेन्द्र आचार्यले बताउनुभयो ।
“चौतारीको पूरानो इतिहास छ, कुनै समय गाउँघरमा भेला, बैठक, चौतारीमै बस्दथे,अब सधै प्रयोग हुने गरी पुननिर्माण गछौंँ” उपाध्यक्ष आचार्यले भन्नुभयो ।
धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्वन्धित वर–पिपल रोपेर बस्न मिल्ने गरी चौतारी बनाइने र खानेपानीको धारा निर्माणका लागि समेत गाउँपालिका सहित अन्य संघसंस्थालाई समेत सहयोग मागिने छ ।
तत्कालिन समयमा टोड्केमा रहेको स्वर्गाद्धारीको शाखा आश्रमबाट पैदल हिडेर पश्चिम म्याग्दी हुदै बागलुङबाट प्युठानको स्वर्गद्धारीमा जाने धार्मिक भक्तजनहरुले चौतारी आसपासमा भोजन गर्ने स्थल बनाएर समेत बस्ने गरेको स्थानीय बुढापाकाको भनाई छ ।
चौतारी आसपासमा होडिङ बोर्ड राखेर दाताको सहयोग तथा धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार समेत गर्ने योजना छ । चौतारी बनाएका दाताका आफन्त झलकबहादुर घर्तीमगरले पुर्खाले बनाएको चौतारी बनाउन आफ्नो तर्फबाट सहयोग हुने बताउनुभयो । चौतारी नजिकैको डिलबाट म्याग्दी नदी, ताराखेत, बरंजाको सातविसे लगायतका बस्तीहरु देखिन्छ ।
गाउँपालिकाहरुदुई दशक अघिसम्म भरिया र बटुवाले भरिभराउ हुने चौतारी जीर्ण हुन थालेपछि स्थानीय तह र समुदाय दुवै चौतारी संरक्षणमा लागेका हुन् । कुनै समय गाउँघरमा भेला, बैठक, कचहरी, सभा चौतारीमै वस्ने गरिन्थ्यो । तर,पछिल्लो समय सुविधायुक्त सामुदायिक भवन बन्न थालेपछि भवनको हलमा नै वैठक तथा सभा हुन थालेपछि गाउँघरमा रहेका चौतारीहरु प्रयोग विहीन हुन थालेका बेनी नगरपालिका २ का ७९ वर्षिय टेकबहादुर कार्कीले बताउनुभयो ।
धर्मका लागि चौतारी चिन्ने, वर र पीपलका रुख रोप्ने, पानी धारा बनाउने, पोखरी खन्ने चलन थियो । सडक यातायातको विकास र समाजमा आएको परिवर्तनसँगै चौताराको प्रयोग घटेको छ । सार्वजनिक जग्गा जमिन र खाली ठाउँ नभएको म्याग्दी सदरमुकाम बेनी बजारमा रहेका परम्परागत चौतारीलाई संरक्षण र व्यवस्थित गर्न जनप्रतिनिधिले चासो दिएका छन् । बेनी नगरपालिका–७ मा पर्ने चौतारीको संरक्षण थालिएको छ ।
वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बजारवासीलाई शीतलता र बटुवालाई विश्रामका लागि पुराना चौतारीलाई व्यवस्थित गरेर प्रतीक्षालयमा रुपान्तरण गर्न थालिएको बताउनुभयो । “अहिलेका प्रतीक्षालयजस्तै पहिलेका चौतारीको महत्व छ”, उहाँले भन्नुभयो “धार्मिक, जैविक विविधताको संरक्षण र विश्रामको सुविधाका लागि जीर्ण चौतारीको पुनःनिर्माण गर्न थालेका हौँ ।”
बेनी नगरपालिकाको वडा नम्बर ७ मा १८ वटा चौतारी र एक वटा पोखरी छन् । चौतारी मर्मतका लागि गत आर्थिक वर्ष २०७९/८० मा बेनी नगरपालिकाले रु चार लाख ५० हजार विनियोजन गरेको छ । सो बजेटबाट नगरपालिकाको प्रवेशद्वार, बेनी सामुदायिक र जिल्ला प्रशासन कार्यालय अगाडिको चौतारी संरक्षण गर्न थालिएको छ ।
गत आवमा विनियोजन भएको रु एक लाख २७ हजार बजेटबाट मालपोत कार्यालय अगाडिको चौतारी मर्मत गरिएको थियो । सो चौतारीको नजिकै बेनी बजार अवस्थित बेनी नगरपालिकाको ७ र ८ नम्बरबाहेकका वडाको पहिचान झल्कने होडिङ बोर्ड राख्ने तयारी भएको छ ।
त्यसैगरी ज्यामरुककोटमा रहेका पाँचओटा चौतारीको पनि पुननिर्माण गरिएको बेनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच