बागलुङ । सुनसान गाउँ । वरपर केही घर । चारै तिर बढ्दै गरको झाडी । त्यही झाडी छेउमा दुई वटा जीर्ण भवन छन् । खिया लागेका जस्ताले छाएको छानो । मक्किएका झ्याल ढोका । लेखिएको भित्ते लेखन र झ्यालमा अड्याएर राखिएको झण्डामा यहाँ पुग्ने हरेकको नजर ठक्क रोकिन्छ ।
भित्तामा राष्ट्रिय गान, राष्ट्रिय जनावर गाई, झण्डा लगायतका चित्र कोरिएको छ । यो जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछमा रहेको सर्वोदय प्राथमिक विद्यालय हो । वि.सं. २०१२ सालमा स्थापना भएको यस विद्यालयमा अघिल्लो वर्षसम्म आठ जना विद्यार्थी थिए । तर अहिले एक जना पनि विद्यार्थी छैनन् ।
विद्यालयमा विद्यार्थी नभए पनि चार जना शिक्षक दैनिक आउँछन् । दुई जना स्थायी र बाल विकास सहजकर्तासहित दुई जना अस्थायी शिक्षक यस विद्यालयमा कार्यरत छन् । विद्यार्थी नभएपछि शिक्षकहरुलाई दिनक कटाउनै मुस्किल हुन्छ । गाउँ बसाइँसराइले रित्तिदै गएपछि विद्यार्थीको संख्या शून्य भएको हो ।
केही वर्ष अगाडिसम्म यस गाउँमा ८८ घर थिए । हाल ३३ घर मात्रै छन् । ति घरहरुमा पनि बुढापाका मात्रै छन् । सेवा, सुविधा र विलासिताको खोजीमा सहर बजार झार्नेको लार्को लागेपछि विद्यालय बन्द हुनुका साथै गाउँनै सुनसान बनेको छ । विद्यालयमा चिटिक्क परेका कक्षाकोठा छन् । शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन बनाइएको सामग्रीले विद्यार्थी पर्खि रहेका छन् ।
विद्यालयमा विद्यार्थीको चहलपहल हुनु पर्ने हो । दैनिक पठनपान हुनु पर्ने हो । तर विद्याथीए नभए पनि विद्यालय सुनसान बनेको छ । डेक्स बेञ्चदेखि सबै किसामका सुविधा छ । विद्यार्थीविहीन विद्यालयमा शिक्षकले भने नियमित तलब खाई रहेका छन् । बागलुङका विभिन्न स्थानीय तहले विद्यालय कम भएका विद्यालयलाई समायोजन, तहमिलान तथा स्थगन गरि रहेका छन् भने जैमिनी नगरपालिकाले अहिलेसम्म गरेको छैन ।
यस विद्यालयका प्रधानाध्यापक लेखनाथ शर्माले विद्यार्थी नहुँदा दिन बिताउनै गाह्रो हुने गरेको बताउनुभयो । गाउँमा वृद्धवृद्धा बोहक अरु नभएको हुँदा विद्यालय रित्तिएको उहाँको भनाइ छ । अझै आफूहरुले शिक्षाको गुणस्तर बढाएर छिमेकी गाउँबाट र बोर्डिङ पढ्ने विद्यार्थीलाई ल्याउन सकिन्छ कि भनेर प्रयास गरेको प्रधानाध्यापक शर्मा बताउनुहुन्छ ।
शर्माले भन्नुभयो, “एक दशक अगाडिसम्म झण्डै एक सय कुरिया (घर परिवार) रहेको गाउँमा अहिले घटेर निकै थोरै छन्, दिन दिनै बसाइँसराइ गरे तराई झर्ने गर्दा गाउँमा बुढापाका मान्छेहरु मात्रै छन्, बालबालिका छैनन्, बालबालिका हुँदै नभएपछि विद्यालय रित्तिने अवस्था आयो, अझै पनि छिमेकी गाउँबाट विद्यार्थीलाई लिएर पढाउन सकिन्छ भनेर प्रयास गरि रहेका छौँ, विद्यार्थी नहुँदा हामी शिक्षकहरुलाई पनि दिनभरी यतिकै बस्ता गाह्रो भएको छ ।”
विद्यालय नजिकैकी स्थानीय हिरा पौडेलले दकश अगाडिसम्म यस विद्यालयमा विद्यार्थीको चापले गर्दा डेक्स बेञ्च नपुगेर भुइँमै बसेर पढ्ने गरेको बताउनुभयो । अहिले विद्यालयमा धेरै सेवा सुविधा हुँदा पनि पढ्ने बालबालिका कोही नभएको उहाँको भनाइ छ । विद्यालय स्थापित बनाउनका लागि गाउँलेले ठूलो योगदान पु-याएको भन्दै अहिले विद्यार्थी नभएर रित्तो हुँदा दुःख लागेको पौडेलले बताउनुभयो । यहाँका धनीमानीहरु सबै चितवन, गैडाकोटा, नवलपरासी लगायतका ठाउँमा बसाइँसराइ गरेर गएपछि अचेल गाउँमा बालबालिका भेट्याउनै मुस्किल पर्ने उहाँको भनाइ छ । पहिलेको तुलनामा अहिले विद्यालयको अवस्था निकै फेरिएको पौडेल बताउनुहुन्छ ।
“हाम्रो छोराछोरीले पढ्ने बेला एउटा कुर्चीसमेत हुँदैनथ्यो, केटाकेटी भुइँमै दुलोमै बसेर पढ्थे, अहिले कोही पनि भइँमा बस्न पर्दैन, बस्ने ठाउँ पनि कति राम्रो बनाएका छन्, नजिकै चर्पी, धारा बनेका छन्, तर त्यो सुविधा लिने कोही छैन” पौडेलले भन्नुभयो, “यो अवस्था देख्दा निकै बैराग लाग्छ, यो ठाउँ पहिला कस्तो रमाइलो थियो, जताततै मान्छे भेटिन्थे, केटाकेटी भेटिन्थे, अहिले त न ठूला मान्छे भेटिन्छन्, न बालबालिका, गाउँमा भएका अलिअलि पनि बजार झर्ने सुरसार गर्दै छन् ।”
जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले विद्यार्थी कम भएका विद्यालयलाई समयोजन, तह मिलान र स्थगन गर्नका लागि सूचना जारी गरेको र वडा शिक्षा समितिलाई अध्ययन गरि रहेको बताउनुभयो । आगामी जेठ १२ गतेसम्म कुन कुन विद्यालय समायोजन गर्ने, कुन कुन विद्यालयको तह घटाउने र स्थगन गर्ने भन्ने विषयमा वडा शिक्षा समितिले प्रतिवेद बुझाउने र सोही अनुसार नगरपालिकाले काम गर्ने उहाँको भनाइ छ ।
नगर शिक्षा अधिकारी आचार्यले भन्नुभयो, “नगरपालिकाले १० वटै वडाका विद्यालयको अवस्था बुझ्ने र तह मिलान, समायोजन र स्थगन गर्ने विषयमा हामीहरु गम्भीर छौँ, वडा शिक्षा समिति मार्फत सबै वडाका विद्यालयको बारेमा अध्ययन गरि राख्नु भएको छ, यही जेठ दोस्रो साता उहाँहरुले प्रतिवेद ल्याउनुहुन्छ र सोही अनुसार नगरपालिकाले विद्यालय मर्ज गर्ने, तह घटाउने अथवा अरु के गर्ने भन्ने विषय निक्र्यौल हुन्छ ।”








This is breaking news.
Video News Post
Breaking News with Advertisements