सर्लाही । सर्लाहीको लालबन्दीमा दोस्रो पटक राष्ट्रियस्तरको कराँते प्रतियोगिता हुने भएको छ ।
नेपाल क्योकुसिन–कान कराँते संघले शनिबार लालबन्दीमा पत्रकार सम्मेलन गरी यही जेठ २५ र २६ गते दोस्रो लालबन्दी नेपाल क्योकुशिन–कान कराँते प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
पाँच वर्षअघि पहिलो पटक आयोजना भएको प्रतियोगिता बर्सेनि हुने भनिए पनि कोभिडको महामारी तथा बदलिँदो राजनीतिक परिवेशले निरन्तरता पाउन सकेको थिएन ।
प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागीय क्लबसमेत गरी २ सय ५० जना खेलाडीलाई सहभागी गराई प्रतिस्पर्धा गराइने कराँतेका प्रशिक्षक शशी देवकोटाले जानकारी दिए । प्रतियोगितामा सहभागी खेलाडीलाई प्रमाणपत्र र विजयी खेलाडीलाई ट्रफी, मेडल तथा नगदसहित पुरस्कृत गरिने छ ।
प्रशिक्षक, रेफ्री तथा जुरीसमेत रहेका देवकोटाका अनुसार २५ केजी माथिका तौल समूहका महिला तथा पुरुष खेलाडीलाई तालिकाअनुसार प्रतिस्पर्धा गराइने छ ।






