ओखलढुंगा । ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका–५ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गोठालो गर्न जंगलमा गएका ६६ वर्षिय तिलकबहादुर मगरको चट्याङ लागेर मृत्यु भएको हो ।
बुधबार हावाहुरीसँगै वर्षा भएको समयमा जंगलमा गोठालो गर्दै गरेका मगरको चट्याङ लागेर घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
दिउँसो गोठालो गर्न जंगलमा गएका मगरको करिब ५ बजेको समयमा चट्याङ लागेको स्थानिय बासीले जानकारी दिएका छन् । घरबाट करिब २ किलोमिटर जति टाढा रहेको सुवाडाँडा सामुदायिक वनमा गोठालो गर्न गएको परिवार श्रोतले जनाएको छ ।
घट्ना घटेपछि प्रहरी चौकी मानेभञ्ज्याङ्गमा स्थानियबासीले खबर गरेका थिए । प्रहरी चौकी मानेभञ्ज्याङ्गबाट प्रहरी टोली खटिई गई घट्नास्थल सुरक्षीत राखिएको थियो । बिहिबार विहान जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट गएको प्रहरी टोलीले थप कानूनी प्रकृया पूरा गरी शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक बलिस्टार सिँहले जानकारी दिनुभयो ।






