विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत माग्नुभएको छ ।
केहीबेरअघि सुरु भएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले विश्वासको मत माग्नुभएको हो । उहाँ प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो मुख्यमन्त्री बन्नुभएको हो । उहाँ गत बिहीबार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
यता बैठकमा नेपाली कांग्रेस अनुपस्थित छ । कांग्रेस संसदीय दलको बैठकले सभामुखलाई पत्र लेखेर बैठक स्थगित गर्न माग गर्दै अनुपस्थित हुने निर्णय गरेको हो ।
मुख्यमन्त्रीविरुद्धको मुद्दा सर्वोच्चमा बिचाराधीन रहेको भन्दै कांग्रेस संसद बैठकमा अनुपस्थित भएको हो ।
कोशीको ९३ सदस्यीय संसदमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । कोशीमा एमालेको उपसभामुखसहित ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (सभामुखसहित) का ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ जना सांसद छन् ।






