काठमाडौं । आगामी जेठ २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा चलचित्रका प्रमुख कलाकार निश्चल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको प्रेम र द्वन्द्वलाई स्थान दिइएको छ ।
टिजरको सुरुवातमा साम्राज्ञीले निश्चललाई लण्डन फर्कन आग्रह गर्दै आफूहरूको भेट कहिल्यै नहोस् भनी कामना गर्नुभएको छ । त्यसपछिका दृश्यमा उहाँहरूबीचको रोमान्ससँगै झगडालाई देखाइएको छ । टिजरमा अन्य कलाकारहरू कवीर खड्का, गरिमा शर्मालाई पनि राम्रो स्थान दिइएको छ ।
घनश्याम लामिछाने निर्देशित चलचित्रमा निश्चल खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, कवीर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनीष श्रेष्ठ, लोकविक्रम मल्ल र मनीष गान्धीको अभिनय छ । यो चलचित्रमार्फत् निश्चल र गरिमाले नेपाली रजतपटमा डेब्यु गर्दै हुनुहुन्छ ।






