काठमाडौं । ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार’ को नयाँ संस्करण हुने भएको छ । आउँदो जेठ १९ गते यस अवार्ड वितरण गरिने जनाइएको छ । गोपीकृष्ण मुभिजले प्रेस विज्ञप्ति निकाल्दै अवार्ड समारोहबारे जानकारी दिएको हो । ‘हिजोलाई सम्मान, आजलाई प्रोत्साहन र भोलिलाई उत्थान’ यो अवार्ड विसं २०६९ सालमा सुरु गरिएको हो ।
यसपटकको अवार्डका लागि गतवर्ष २०८० मा प्रदर्शन भएका चलचित्र सहभागी हुन पाउनेछन् । सहभागी मध्येबाट निर्णायकले छनोट गरेका २३ प्रतिष्पर्धात्मक विधाका विजेतासँगै दीर्घसाधना सम्मान र चलचित्र पत्रकारिता पुरस्कारसहित २५ विधामा पुरस्कृत र सम्मान गरिने जनाइएको छ ।
यस पटकको अवार्डमा ‘नारायण’ सर्वोत्कृष्ट निर्माण नियन्त्रक र ‘उद्धव’ दीर्घसाधना सम्मान थपिएको जानकारी गराइएको छ ।
गोपीकृष्ण मुभिजका सञ्चालकद्वारा आयोजना गरिने अवार्डमा स्वदेशीसँगै विदेशी चलचित्रकर्मीको सहभागिता रहनेछ । यस अवार्ड व्यवस्थापन गरिरहेको गोपीकृष्ण कामख्या मिडिया कम्पनी प्राइभेट लिमिटेडले अवार्डलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्ने बताइको छ ।






