काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व मनाइन्छ । भोलि देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
यो पर्वमा बिहानै नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।
आमा नभएकाहरु भने आमाको श्राद्ध गरी दिवङ्गत आमा र आमाले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
औँसीलाई पितृको तिथि मानिन्छ । त्यसै अनुसार वैशाख कृष्ण औँशीमा आमाको मुख हेर्ने र भदौ कृष्ण औँसीमा बाबुको मुख हेर्ने पर्वका रुपमा मनाउने चलन छ ।
यसै शिलशिलामा प्रत्येक वर्ष चन्द्रागिरि नगरपालिका-६ मातातीर्थ कुण्डमा लाग्ने मेला आज साँझदेखि सुरु भएको छ ।
आमाको मुख हेर्ने औँसीको अघिल्लो दिन आज साँझ दर्शनार्थीहरु मातातीर्थ मन्दिर पुगेर आमाको प्रतिमामा पूजाआजा गर्नुका साथै रातभर जाग्राम बस्ने गर्दछन् । मातातीर्थ संरक्षण तथा विकास संस्थाले प्रत्येक वर्ष मातातीर्थ मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित गर्ने गरेको छ ।
संस्थाका अध्यक्ष शान्त उदासले मेला व्यवस्थित गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरि काम गरिएको जानकारी दिनुभयो ।
मातातीर्थ मेलामा आज साँझ बत्ती बाल्ने, रातभर जाग्राम बस्ने र भोलि बिहानै आमाको मुख हेर्ने तथा स्नान गर्ने गरिन्छ । सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लो समय श्राद्ध गर्नेको सङ्ख्या बढ्दो छ । मन्दिरमा दैनिक आठदेखि १० जना श्राद्ध गर्नका लागि आउने गरेका छन् ।
मातातीर्थ कुण्डमा दर्शन गरेमा दिवङ्गत आमालाई छोराछोरीले तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ ।
चन्द्रागिरिमा भोलि बिदा
मातातीर्थ औँसीका अवसरमा चन्द्रागिरि नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts