
प्रेसको आवश्यकता र औचित्य सर्वकालिक हुने कुरामा दुई मत छैन । जुनसुकै प्रकारको राज्यप्रणाली किन नहोस् त्यसमा प्रेसको भूमिका अहम् हुने गर्छ । प्रजातान्त्रिक प्रणालीमा त्यसको संरक्षण गर्न र निरंकुशतामा त्यसलाई विफल बनाउन प्रेसजगत पहिलो पंक्तिमा उभिने गर्छ । यो कुरा बुझेर प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रेस जगतलाई सल्लाह, सुझाब दिनुका साथै केही अपेक्षासमेत गर्नुभएको छ । उहाँले प्रेस स्वतन्त्रतामाथि कुनै पनि प्रकारको संकुचन हुन नदिने प्रतिबद्धता पत्रकारहरू सामु व्यक्त गर्नुभएको छ भने अर्कातिर मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न पत्रकारहरूलाई सुझाबसमेत दिनुभएको छ ।
यसका साथै उहाँले प्राप्त उपलब्धिको जगेर्ना गर्न र यसका लागि निरन्तर खबरदारी गर्न पत्रकारिता क्षेत्रसमेत लाग्नुपर्ने अपेक्षा गर्नुभएको छ । उहाँको अभिव्यक्तिबाट पहिलो कुरा प्रेसस्वतन्त्रतामाथि कुनै प्रकारको संकुचन हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको पाइएको छ । यो सर्वमान्य सिद्धान्त हो । प्रजातन्त्रमा प्रेसमाथि त्यस्तो संकुचन हुनुहुँदैन र हुन सक्दैन पनि । त्यही कुरा उहाँले पत्रकारहरू सामु व्यक्त गर्नुभएको हो । उहाँको अभिव्यक्तिको अर्को पक्ष भनेको मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगरौँ भन्ने हो । यो सबैभन्दा महत्वपूर्ण पक्ष हो तर यसलाई न त सरकारले न पार्टीहरूले र पत्रकारहरूले नै पालना गर्न सकेका छन् ।
सरकारले आफ्ना पक्षका पत्रकारहरूका माध्यमबाट आफ्नो पक्षमा लेख्न प्रोत्साहित गरिरहेको हुन्छ । पत्रकारिता क्षेत्रको सहयोग लिएर आफ्नो पक्षमा प्रचारबाजी गर्छ र आपूm लामो समयसम्म सरकारमा टिकिरहने योजना बनाउँछ । पार्टीहरूको पनि अभिष्ट यस्तै खालको रहने गर्छ । अर्कोतिर पत्रकारहरू पनि भ्रामक समाचार संप्रेषण गरेर होस् वा मिथ्या समाचारको सहयोग लिएर यसले समाजमा के कस्तो प्रभाव पर्छ भन्नेतर्फ होइन आफ्नो स्वार्थ कसरी पूरा हुन्छ भन्ने दृष्किोणबाट लेख्ने गर्छन् । यसले गर्दा पत्रकार र पत्रकारिता क्षेत्र समाजमा अपत्यारिलो बन्दै गएको छ । साहसी, खोजमूलक र वास्तविक पत्रकारिता गर्नेहरूको खडेरी छ ।
त्यसो गर्ने हो भने पत्रकारिता क्षेत्रमा टिक्न सक्ने पत्रकारहरू कमै मात्र हुन्छन् । तर, प्रधानमन्त्रीले पत्रकारहरूलाई जुन कुरातर्फ सचेत गराउनुभएको छ त्यस्ता कार्यमा प्रवृत्त गराउन सरकारले नै दुरुत्साहन गर्ने गर्दछ । यो नै सबैभन्दा सोचनीय पक्ष हो । हालका दिनमा पत्रकारिता प्रायोजित रूपमा हुने गरेको पाइन्छ । पक्ष र विपक्षमा पत्रकारहरू विभाजित बन्दै आउने हो भने यसले समाचारको विश्वसनीयता कायम रहन सक्दैन । २०४७ सालमा राजदरबारले अर्को संविधानको मस्यौदा प्रस्तुत गर्दाको सन्दर्भ होस् वा तत्कालीन सभामुख कृष्णबहादुर महरा प्रकरण अथवा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको सेक्युरिटी प्रेस सन्दर्भको समाचार, यस्ता समाचार दिन सबै पत्रकारले आँट गर्दैनन् ।
यस्ता सन्दर्भको जानकारी पाएका खण्डमा पत्रकारहरू त्यसबाट आफूलाई शुभलाभ हात पार्ने प्रयासमा लाग्छन् । यो नै पत्रकारिता क्षेत्रको सबैभन्दा ठूलो विकृति हो र यस्तो अवस्थामा सरकार, पार्टी, मन्त्री, प्रधानमन्त्री वा पदीय हैसियतका व्यक्तिहरूबाटै पत्रकारहरूलाई गलत बाटोबाट हिँड्न दुरुत्साहित गरिन्छ । त्यही कुरा प्रधानमन्त्रीले नेपाल पत्रकार महासंघको महाधिवेशनमा व्यक्त गर्नुभएको छ । यसको पालना गर्न र गराउन उहाँहरूको समेत भूमिका हुने भएका कारण सरकारका लागिसमेत यो मननीय विचार हो । अर्कोतिर प्रधामन्त्रीले पत्रकारहरूलाई समेत प्राप्त राजनीतिक उपलब्धिको जगेर्ना गर्न र प्राप्त उपलब्धिमा लाग्नेहरूका विरुद्ध निरन्तरको खबरदारीमा लाग्नुपर्ने अपेक्षा गर्नुभएको छ जुन अपेक्षा स्वाभाविक हो ।
सरकारका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका गरी तीनवटा अंग हुने परम्परागत सोचमा अर्को अंग पत्रकारितालाई चौथो अंगका रूपमा व्याख्या गर्ने गरिएको छ । यो कुरा इतिहासले प्रमाणित गर्दै आएको छ । चाहे पञ्चायती व्यवस्थालाई असफल बनाउने तत्कालीन अभियान पत्रकारिता होस् चाहे त्यसयताका अन्य अभियान हुन् पत्रकारिता क्षेत्रले अहम् भूमिका निर्वाह गर्दै आएको छ । ज्ञानेन्द्र शाह राजा भएपछि इतिहासमै सबैभन्दा कूटिल भनिएका व्यक्ति डा.तुलसी गिरीलाई मन्त्रिपरिषद्को उपाध्यक्ष बनाएर अघि बढ्न खोज्दा तत्कालीन राजा र राजाको मन्त्रिमण्डललाई समेत असफल बनाउनमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको थियो ।
डा.गिरीले त पत्रकारिता जगतलाई ठूला खालका राजनीतिक पार्टीहरूकै पंक्तिमा राखेर आठौं पार्टी भन्नुभएको थियो । यसरी हेर्दा पत्रकारिता क्षेत्र राष्ट्रको अभिन्न अंग हो भन्ने कुरामा द्विविधा छैन तर पत्रकार र पत्रकारिता क्षेत्र आफैं पनि मर्यादित भएर अघि बढ्न भने सक्नुपर्छ । कतिपय अवस्थामा पत्रकारिता क्षेत्रले ठूलठूला जोखिम उठाउनसमेत सक्नुपर्छ । समाचार संकलनकै क्रममा ज्यानको आहुति दिने पत्रकारहरू पनि धेरै छन् तर केही पत्रकारको सत्ताको वरिपरि घुमिरहने प्रवृत्तिका कारण पत्रकारिता जगतको छवि जनसाधारणसामु धूमिल बन्दै गएकोतर्फ भने पत्रकारहरूले सोच्नैपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच