व्यक्ति आफैँले आफ्नो भए भरको भौतिक वस्तु सुम्पेको छ-विश्वासका भरमा कथित तीनचम्के नामक संस्था-सहकारीलाई । उनीहरूकै भगौटे अध्यक्ष ल्याइदिने वचनबद्धता छ । ल्याइ पनि दियो । उनीहरूसँगै छ ऊ पनि । तैपनि ममाथि सञ्चालकको बिल्ला भिराएर घरी-घरी निक्षेपकर्ताका जुलुसका खेती गराउने दुस्प्रयास विवेक बन्धक राखी निर्दोष परोपकारमा बढी संलग्न व्यक्तिलाई बन्धनमा पार्ने यी आपराधिक जत्थाहरू कसरी राज्यका तीन चम्कामध्येको एक सकारात्मक चम्का हुन सक्छन् ?
म एउटा बिम्बमात्र हुँ । म फसेको सहकारी एउटा सानो नमुना मात्र हो । सम्पूर्ण यससँग सम्बन्धित व्यक्तिहरू म हुन् । सम्बद्घ एउटा संस्था यस देशका सम्पूर्ण सहकारी हुन् । ‘तैँले निश्चित लक्ष्य पूरा गराउनाका लागि नाममात्रको सञ्चालक बने पनि भए संस्थाको पुँजीबाट तेरो जेथा असुलउपर गर्न कुनै रोकटोक छैन ।’ यो वचन यिनै पङ्गुहरूका आधिकारिक बैठकमा पटक-पटक पारित भएको हो । यसै विश्वासमा सानो अंश संस्थाबाट लिएको पनि हो । अर्को कुनै सञ्चालक छिद्रान्वेषी बनेर उसको आफ्नो निक्षेपकर्तालाई उचाल्ने र संस्थामा नै बन्धक बनाउनेजस्ता घृणित कार्यका संवाहकहरू समाज र राष्ट्रका सकारात्मक संवाहक त कुरै छाडौँ यी मानवमात्रका ज्वालामुखीले भर्खर छाडेका काला लेदा चाहिँ हुन सक्छन् भन्ने कुरामा शङ्का रहँदैन ।
सहकारीलाई देशनिर्माणको मेरुदण्डमध्येको एक ठान्ने पङ्गु नेताहरू ? यिनीहरू ठान्छन् किन यस्तो ? कारण यसका केन्द्रीय रिमोट यिनै पङ्गु मन्त्री नेताहरू नै छन् । अकुत भ्रष्टाचारका मुटु नै यिनै हुन् भने अपराधीलाई कारबाही गर्ने को ?
ब्राहृमणका नाममा निधारमा खरानीका रेखा तेस्र्याएर रुद्राक्षको माला जप्ने एउटा पैचासिक मनोवृत्तिले खेल खेल्छ । भूमाफियाका जमातको गुण्डागर्दीले घेराबद्घ गर्छ । छुरी, भाला, खुकुरी, तथानाम शब्दका ओठहरू, बट्टाइखाएका भुसतिघ्रे अनुहारहरू तिनलाई ठीक ठाउँमा ल्याउन बोलाएका सुरक्षाकर्मी नै उनीहरूकै संरक्षक-कति घिनलाग्दो कानुनी व्यवस्था ! उल्टै यिनै सुरक्षाकर्मीमार्फत महनुमान ढोकाको कठघेरामा उभ्याइन्छु । म लाचार बन्छु लिएको दिनलाई खुशीले मख्ख पर्छ यो पाखण्डीजमात । एक शब्द यो उसकै निक्षेपको लिएको हो, फिर्ता गर्नुपर्दैन भन्ने कसैका मुखबाट निस्कँदैनन् ।
बरु तिनै सहकारी सञ्चालक मुखमा लड्डु चेपेर नाँचेका दृश्य सामु देख्दा मैले राक्षसहरूका दुनियाँ खोज्न अन्त जानु नपर्ने गहिरो ज्ञान प्राप्त गरेँ । वा ! सहकारी ? वा ! यसलाई देशनिर्माणको मेरुदण्डमध्येको एक ठान्ने पङ्गु नेताहरू ? यिनीहरू ठान्छन् किन यस्तो ? कारण यसका केन्द्रीय रिमोट यिनै पङ्गु मन्त्री नेताहरू नै छन् । अकुत भ्रष्टाचारका मुटु नै यिनै हुन् भने अपराधीलाई कारबाही गर्ने को ? लिएको दिएपछि एउटा पितृ तार्न सराद्धेको धोती फेर्ने बाहुन त मख्ख प¥यो । यस्ता बाहुनदेखि लिएर विश्वमा नै भएका जातजाति, सण्डेमुसण्डे र नभएका पनि मौकामा चौका हान्दै रातारात अफिसको ताला फोडेर नभएका कागजात बनाउँने, भएका आफूलाई अप्ठ्यारो पर्ने जति निकालेर फाल्ने भेडाभूतहरू कति छन् कति यी सहकारी नामक राष्ट्रसंहारक काला ओडारभित्र ।
अर्को सण्डेको कालो भूत बेलायती पाउण्डको पेन्सन पस्केर टुप्लुक्क देखापर्यो । होला, उसको सञ्चिती त्यसमा मेरो भन्नु केही छैन र थिएन पनि । मलाई थाहा छ-यी पाखण्डका पुजारीहरू एकलाई सय, सयलाई हजार, हजारलाई लाख, लाखलाई करोड रातारात बनाउनाका लागि नै पेन्सन पाकेपछि, समय गुजार्ने कुनै पनि आधार नपाएपछि प्रयोग गरिने भेडाहरूका खर्क भएका छन् नेपालका सहकारी संस्थाहरू । अर्कातिर कतै आयआर्जनका सीप नभएका, शारीरिक श्रम गर्न नचाहने, बुद्घिका भाँडामा बिर्का कसिएका शठलण्ठकहरू तर शान चाहिँ देखाएर मस्तीको महमजाकमा रमाउन चाहने भुत्तेस्वाँठहरूका जमात नै सहकारी सञ्चालनका ठेकेदार बनेर बसेका छन् ।
तेस्रोमा कहीँकतै निस्कन नपाएका, सामाजिक क्षेत्रका अनुहार देख्न नपाएका, अथाह धनी तर यसको प्रचारप्रसार गर्न नपाएका हातखुट्टा सद्दे तर बुद्घि पङ्गु भएकाको जमात मेरो आसपासमा छ । सामान्य सम्पन्नता भएर पनि आफ्ना व्यक्तिगत सूचीका तपसिलमा सङ्ख्याको अर्को अङ्क थप्न र परिचयको अर्को बिल्ला भिर्नमात्र चाहने लिङ्गुराको जमात सहकारी सञ्चालकका नाममा धोती फेरेर बसेका छन् । यिनै पाखण्ड जमातका सिङ्गा, अकाट्य, कहिल्यै नहल्लिने, आँधीहुरी, तूफान जेजस्ता आए पनि आड बनेर बसेका छन्-नेताहरू, भ्रष्ट गल्ली गनाउने राजनीतिका स्वाँठ गुण्डाहरू जो मन्त्री बनेर कुर्सीका आसनमा अनाचारी तर गुलिया भाषण गरेर आसिन छन् ।
यसको नेतृत्व यिनैले लिएको हुन्छ भने यसमा रहेका मान्छेभित्र मान्छे खोज्नु भनेको मरुभूमिमा आकाशबाट बर्सेको पानीको धारा पिउन ओठ उघार्नुजस्तै असम्भव यस अर्थमा छ म नै यसभित्र केही बुद्घिमा धमिरा नलागी छिरिन । यिनका नसामा विवेकको रक्तप्रवाह हुँदैन । कर्तव्यको श्वासको अक्सिजन यिनका अन्तरमा छिर्दैन । नैतिकताको न्यानो काख यिनमा खुल्दैन । आचरण अनुहारले यिनमा कतै कहिल्यै पनि अङ्कमाल गर्दैन । यसैले त म भन्छु राज्यव्यवस्था परिकल्पनाका भूतहरू नै विश्वमानवता विनाशका जिउँदा यमराजहरू हुन् । देश द्रौपदीको तपेस हो जहाँ आफन्त अघाउनाका लागि स्वार्थी हात फैलाएर स्वार्थान्धथाली नै थमाइन्छ ।
यो बेलायती भूत सायद आफूलाई निकै लडाकु ठान्थ्यो, आफूजस्तै अन्य लठैत भूतहरू त्यही पाउण्डको उन्माद पस्केर आफूमा समायोजन गरेको थियो । अर्को एउटा सञ्चालक-लोसे, चिप्ले माथिका सकारात्मक कुनै पनि गुण नजन्मेको निकम्मा ऊ मेरै जिल्लाको हो र वैचारिक रूपले एउटा नै आस्थामा आश्रित । मकहाँ बेलुकीपख आएर भन्यो-भोलि त्यो आउँदैछ । गौशाला गएर मिलाऊँ है । यति नै काफी छ यी पिचासहरूका मनको मान्छे बुझ्न । अझ यो जासुसको त पेसा नै यही हो । सञ्चालकमध्ये पनि कसैको बस्ने बासमात्रै देखे पनि उसको तेस्रो नेत्र तेर्सी हाल्ने । निक्षेपकर्तासँग मिल्यो, तरिका सिकायो अनि उनीहरूबाट हिस्सा प्रतिशत लियो । यो कुन स्तरको मान्छेको भूमिका हो ?
जम्मै यिनका नसाका नानी बुझेपछि मैले त्यस दिन एउटा अनौठो अठोट गरेँ र यस पाखण्डी जमातमा जम्मै खाओ, मेरो बास पनि राख र यी पङ्गु निक्षेपकर्तालाई देओ तर मलाई यस पापको अपराधको, अनैतिकताको सहकारी नामक कालकोठरीबाट चाहिँ मुक्ति देओ । फेरि उनीहरू हच्के यो पनि गर्न नसक्ने । यस्ता लठैतहरूका नसा राम्ररी म पनि छामिरहेको छु । यो पाउण्ड पारखीको जमातसँगै गौशाला प्रहरी वृत्तमा रमाइलो जम्काभेट भयो । काफ्ले थरका डिएसपी थिए नाम नै खोल्न त मिलेन । उनले आफू अनेकौँ काम छाडेर आएको कुरा बताए । सबै गम्भीर मुद्रामा छन् ।
सबभन्दा भित्री पाखण्डको खानी अपराधी चाहिँ यति गम्भीर छ कि मानौँ ऊ बूढानीलकण्ठ नै हो । ऊ जति सभ्य, सुसंस्कृत, भद्र व्यक्ति त संसारमा अर्को हुनै सक्तैन । बेजोड हाँस उठ्यो मलाई । म ओठ खोलेर आवाजविहीन यति मीठो सयभित्र हाँसो हाँसेँ अरूका लागि यो असभ्य हाँसो थियो, अनुशासनहीन हाँसो, अपरिपक्क हाँसो थियो । मेरा लागि भने यो नै रहस्यभित्र रहस्य खोल्न, रहस्यबाट नै अनायास जन्मेको अमर हाँसो मिश्रित प्रश्न थियो । मात्र उत्तरको प्रतीक्षा गरिरहेको अनौठो हर्षाश्रुमिश्रित प्रश्न ।
पड्किए डिएस्पी । सत्ताको सान, अहंको अभिमान-यतिका मान्छेका जायजेथा डुबेको छ । तँलाई शरम छैन, अझ उल्टै हाँस्ने ? सब सन्नाटा । म अझ खित्का नै छाडेर हाँसेपछि चाहिँ यिनको आवाज मौन भयो । म पनि छक्क परेँ । अझ बढी उफ्रन् मेरो आशय त्यो थियो । यसै सन्नाटाका बीच सैतानभित्र पनि सङ्कटको अन्तिम बेलामा मान्छेको म सच्चाइ बोल्छ भनेझैँ भेलबाट जेल घिस्याउनेमध्येकै एक जनाले ठूलो आवाजमा-डिएसपी साब ! उहाँ जति असल मान्छे त दुनियाँमा नै नहुन सक्छन्, उहाँ खराब होइन, हजुरले देखेका गम्भीर चेहराका भद्र जति सबै अपराधी हुन्, एक न एक खालका अपराधी । कोही धनका अपराधी, कोही कुर्सीका अपराधी, कोही खादा अपराधी, कोही सानका अपराधी । यिनले यसो भन्दा म चकित भएँ । अचम्मित भएँ ।
अब डिएसपी मिस्टर काफ्ले छक्क परे । तीन छक । उनी वास्तवमा बोल्न सकेनन् । नबोली पनि सुख छैन । घुमाउरो पाराले उनी व्यक्त भए-‘हेर्नु न आज अपराधका समस्या एकै पटक परेका । तीन वटामै पुगेर हतार हतार यता आउँदा ज्यादै तनावमा थिएँ म ।’ एक प्रकारले उनको यो घुमाउरो क्षमायाचना नै हो । मैले बुझ्ने अवसर पनि जहाँ जस्तोसुकै अवस्था भेल होस् वा जेल हिम्मत साथमा भएपछि विजय सच्चाइ शिरमा छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts