यो संसार विविधताले भरिपूर्ण छ । स्थान अनुसार हरेक विषयवस्तु भिन्न भिन्न प्रकृतिका हुने गर्दछन् । भौगोलिक भिन्नताले स्थानीय प्रकृतिमा पनि भिन्नता ल्याउने गर्दछ । यही स्थानीय भेदलाई अञ्चलिक प्रभाव भन्न सकिन्छ । कुनै स्थानमा अत्यधिक गर्मी हुन्छ, मान्छेको छाला कालो हुन्छ । समशीतोष्ण प्रदेशका अनि शीत प्रदेशका मान्छे गोरा प्रकृतिका हुन्छन् । स्थान अनुसार खानपान, रहनसहन, पहिरन आदिमा पनि भिन्नता हुने गर्दछ । यही भारत वर्षको कुरा गर्ने हो भने पनि स्थानीय भेद रहेको पाइन्छ । गीतामा ‘...अतोस्मिलोके वेदे च प्रथितः पुरुषोत्तमः’ (गीता, १५।१८) यस जगत्मा र वेदमा पनि म प्रसिद्ध छु भनी गीतामा लौकिक र वैदिक विषयवस्तुको भिन्नता उल्लेख गरिएको छ ।
यसैले शास्त्रीय विषयवस्तुका साथै स्थानीय भेद हरेक स्थान अनुसार भिन्न हुने गर्दछन् । ज्योतिषशास्त्रमा दिक्, देश र कालको साधन गरिन्छ । दिशा अनुसार व्यक्ति र वस्तुमा भिन्नता रहन्छ । यसैले दिशाको साधन गर्नुपर्दछ । देश अर्थात् स्थान अनुसार पनि व्यक्ति र वस्तुमा भिन्नता रहन्छ । यसैगरी काल अर्थात् समयानुसार पनि व्यक्ति र वस्तुमा भिन्नता रहने गर्दछ । आजको प्रसङ्गमा देश अर्थात् स्थान अनुसार रहने भेदको विशेष चिन्तन रहनेछ ।
नेपाली परम्परामा दशैँ भव्यताका साथ मनाइन्छ । नेपालकै तराई भेगमा दशैँलाई दुर्गापूजाका रूपमा मात्र मनाइन्छ । यसैगरी भारतका कतिपय स्थानमा विशेष उत्सवपूर्वक मनाइन्छ त कतिपय स्थानमा सामान्य उत्सवका रूपमा दशैँ मनाउने गरिन्छ ।
हामीले गर्ने पूजा पद्धति वेदलाई मूल आधार बनाएर तयार गरिएका हुन्छन् । यसरी निर्धारित पद्धतिको स्थान अनुसार भिन्नाभिन्नै व्याख्या गरेको पनि पाइन्छ । धर्मशास्त्रका पनि भिन्न भिन्न शाखा सूत्र अनुसार भिन्न भिन्न व्यवस्था हुन्छ भने उक्त व्यवस्थामा पनि स्थानीय प्रभाव मिश्रित रहने गर्दछ । आञ्चलिक प्रभावले उक्त वैदिक कर्मको विधिमा पनि केही भिन्नता रहने गरेको पाइन्छ ।
गणेशजीको उपासना गर्नू भनी ‘गणनान्त्वा...’ आदि वैदिक मन्त्र, गणपति स्तुति आदि पौराणिक मन्त्रको पनि व्यवस्था शास्त्रमा गरिएको छ । कुनै स्थानमा गणेशजीको आराधना विशेष मूर्ति बनाएर भव्य रूपमा गणपति उत्सव मनाइन्छ, कतै गणेशजीको फोटो राखेर पूजा गरिन्छ, कतै सुपारी राखेर पनि गणेशजीको आराधना गरिन्छ, कतै चामलमाथि फल राखेर पनि गणशजीको पूजा हुन्छ, त कतै गाईको गोबरको मूर्ति बनाएर पनि गणेशजीको आराधना गरिन्छ । यसरी एकै गणेशजीको आराधना गर्न एउटै वैदिक मन्त्रको उच्चारण भए पनि स्थान अनुसार वस्तुको उपलब्धता अनुसार भिन्न भिन्न तरिकाले पूजा हुने गर्दछ । जुन स्थानीय भेद, आञ्चलिक प्रभाव हो । मूलरूपमा गणेशजीको पूजाआराधना गर्ने हो । स्थान अनुसार लौकिक भेद भिन्न हुने गर्दछन् ।
नेपाली परम्परामा दशैँ भव्यताका साथ मनाइन्छ । नेपालकै तराई भेगमा दशैँलाई दुर्गापूजाका रूपमा मात्र मनाइन्छ । यसै गरी भारतका कतिपय स्थानमा विशेष उत्सवपूर्वक मनाइन्छ त कतिपय स्थानमा सामान्य उत्सवका रूपमा दशैँ मनाउने गरिन्छ । आश्विन दुर्गापक्षमा पूजा दुर्गा भवानीको नै सार्वत्रिक हुन्छ तर दशैँ नेपाल र नेपालीको विशेष चाड हो । नेपाली परम्परा अनुसार मान्यजनसँग टीका जमरा थाप्ने, सबैले नयाँ लुगा लगाउने, दुर्गा भगवतीको विशेष आराधना गर्ने, सबै परिवारजन एक स्थानमा भेला हुने आदि भव्यताका साथ शुभकामना आदानप्रदान गरेर मनाइन्छ । तर, यही दुर्गापक्षमा कतिपय स्थानमा यसरी विशेष महत्वका साथै यो पर्व मनाइँदैन । दुर्गा भगवतीको आराधा गरिन्छ, दुर्गा उत्सव गरिन्छ तर नेपाली रौनक अनुसार जसरी दशैँ मनाइन्छ त्यसरी अन्यत्र मनाइँदैन ।
गर्नेपूजा दुर्गादेवीकै हो । विधि पनि उही हो । नेपालमा दशमीलाई विशेष महत्त्वका साथ शुभकामनाका साथै मान्यजनसँग आशीर्वाद लिएर जसरी मनाइन्छ यसैगरी अन्यत्र मनाएको पाइँदैन । यसका पछाडि उही आञ्चलिक प्रभाव नै रहने गर्दछ । लोकले जे जसरी मान्दै आयो सोही मान्ने गरिएको हो । यो स्थानीय भेद हो । जुन स्थानमा जसरी चाडपर्व मनाउने चलन छ सोहीअनुसार मनाउने गरिन्छ । यसै गरी नेपालका पाहाडी भूभागमा छठ पर्व त्यसरी मनाइँदैन जसरी नेपालका तराईको मिथिलाञ्चलमा मनाइन्छ । दशैँको उत्सवजस्तै विशेष उत्सव छठ पर्वमा हुने गर्दछ । पहाडी स्थानमा छठलाई कम महत्त्व दिइन्छ भने तराईमा अधिक महत्त्व दिइन्छ ।
शास्त्रीय रूपमा षष्ठिका देवीको उपासना गर्ने विधान छ । सबैले पूजाआराधना पनि गर्छन् । कसैले विशेष उत्सवका रूपमा गर्छन् त कसैले सामान्य रूपमा । यसमा पनि लौकिक परम्पराले नै स्थान पाएको देखिन्छ । यसैले वैदिक र लौकिक दुवै कुरा विशेष महत्त्वका हुने गर्दछन् । स्थान अनुसार खानपिनमा पनि भिन्नता हुने गर्दछ । नेपालीले खाएजस्तो दाल, भात, तरकारी अचार संसारमा सबैले खाँदैनन् ।
नेपालकै कतिपय स्थानमा रोटीलाई मूल खानाका रूपमा लिइन्छ भने भातलाई दोस्रा प्राथमिकातामा राख्ने गरिन्छ । भारतमा भातलाई चावल भनिन्छ अनि थोरै खाने चलन छ । अमेरिका लगायतका स्थानमा पिज्जा (रोटी) लाई प्राथमिकतामा राखिन्छ । पाकिस्तानमा विरयानी बनाएर खाइन्छ । यसैले वस्तु एउटै भए पनि प्रयोग गर्ने स्थानीय भेद भिन्न पाइन्छन् । कतै गहुँलाई प्राथमिकता, कतै धानलाई, कतै मकैलाई, कतै आलुलाई प्राथमिकतामा राखिन्छ । यसरी खानपानमा पनि स्थानीय भेद हुने गर्दछन् । कतै खोर्सानीलाई विशेष प्राथमिकताका राखिन्छ, कतै कम प्राथमिकतामा रहन्छ । वस्तु एउटै भए पनि स्थान अनुसार स्थानीय भेदअनुसार प्रयोगमा भिन्नता रहनु लौकिक प्रभाव हुनु हो ।
लोकगीत पनि स्थानअनुसार भिन्न भिन्न छन् । नेपालको पहाडी स्थानका लोकगीतभन्दा तराईका मैथिली लोकगीत भिन्न छन् । नेपालकै पूर्वी पहाडका लोकगीत र पश्चिमी पहाडका लोकगीतमा भिन्नता पाइन्छ । गाउने उही लोकगीत भए पनि स्थानीय भेदका कारण, लोक परम्पराका कारण यस्ता कुरामा भिन्नता हुने गर्दछ । त्यही मादल पूर्वेलीले बजाउने ताल र पश्चिमेलीले बजाउने तालमा भिन्नता पाइन्छ ।
स्थान भिन्न हुँदै गर्दा उक्त स्थानमा चल्ने वैदिक कार्यका साथै लौकिक कार्यमा पनि भिन्नता हुँदै जाने गर्दछन् । माडवारी समुदायमा पूजाका निम्ति पाटा (काठका पिरा) अनिवार्य रहन्छन् । दुना टपरीको प्रयोग गरिँदैन । माटाका भाँडाको प्रयोग हुन्छ तर नेपालका पनि पहाडी समुदायमा दुना टपरी अनिवार्य रहन्छ । तराई भेगमा केराका पात पूजामा विशेष प्रयोग गरिन्छन् । दुना टपरीमा पूजा गर्ने, टपरीमा चामल राख्ने यी हाम्रा स्थानीय भेद हुन् । कतै केवल मूर्तिमात्र राखेर पूजा गर्ने, कतै काठमा पिरामा चामलका थुप्रा लगाएर पूजा गर्ने त कतै बोहोता टपरीमा चामल राखेर पूजा गर्ने गरिन्छ । यसरी भिन्नता रहनुमा स्थानको प्रभाव अधिक रहन्छ । उक्त स्थानमा जे जस्ता वस्तुको प्राप्यता रहृयो सोही प्रयोग गरिएको हो । लोकले स्वीकार गरेका कारण ती कुरा अधिक प्रचलनमा रहे । मूल कुरो एउटै भए पनि त्यसलाई व्यक्त गर्न भिन्न भिन्न विधिको प्रयोग गरिएको हुन्छ ।
यसैले वैदिक र लौकिक दुवै कुरा महत्वका हुने गर्दछन् । मूल कुरो एउटै भए पनि वेदोक्त कुरा प्राथमिककतामा हुनुपर्दछ । सोही कुरालाई व्यक्त गर्ने स्थानीय भेद हुन्छन् उक्त स्थानमा सोही कुरा मान्य र स्वीकार्य हुन्छ । कतिपय स्थानमा श्राद्धमा कलश, गणेश पनि राखिन्छ त कतिपय स्थानमा केवल दियो र ऋषि राखेर श्राद्ध गरिन्छ । स्मरण गर्नु भन्ने कुरालाई प्रतीक राखेर स्मरण गर्ने वा केवल स्मरणमात्र गर्ने भन्ने कुरा स्थानीय भेदमा पर्ने गर्दछन् । कतै वस्तु राखेर स्मरण हुन्छ त कतै नराखी केवल स्मरण हुन्छ । मासिक गर्दा कतै मानो मुठी दान गर्ने चलन छ कतै छैन ।
मूल रूपमा आमान्न दान, घडा दान गर्ने हो । स्थान अनुसार चामल विशेष (मानो मुठी) दान गर्ने चलन वा स्थानीय भेद छ यसैले उक्त स्थानमा सो पनि गर्नुपर्ने हुन्छ । लौकिक र वैदिक दुवै पक्षबाट हाम्रा जीवन पद्धति चलेका छन् । यसैले गीतामा ‘लोके वेदे च’ भनिएको हो । वैदिक पनि र लौकिक पनि दुवै हाम्रा लागि विशेष महत्वका हुने गर्दछन् । कतिपय स्थानीय भेद शास्त्रकै मूलमर्मसँग सम्बन्धित छन् त कतिपय शास्त्रभन्दा भिन्न पनि भएको पाइन्छ । लोकमा देखिने स्थानीय भेद मूलशास्त्रको आधारमा नै भए भने उपयुक्त मानिन्छ । जरो समाउन शास्त्रमा नै पुग्नुपर्ने हुन्छ ।
स्थानीय चलनका जरा वेद वा वेदोक्तशास्त्र नै हुन् । आञ्चलिक प्रभावले गर्दा आउने भिन्नता सामान्य हुन् । सही र गलत भन्ने कुरा उक्त स्थानले पनि भिन्न हुने गर्दछ । कुनै स्थानमा सही लाग्ने कुरा अन्य स्थानमा गलत पनि लाग्न सक्छ । यसरी देखिने स्थानीय भेदका सकारात्मक र नकारात्मक दुवै पाटा हुन्छन् । एकै स्थानमा बसेको व्यक्तिले, एउटामात्र विषयवस्तुको ज्ञान भएको व्यक्तिले यहीमात्र हो भन्नु आफ्नो प्राप्त ज्ञानको प्रदर्शन गर्नु हो । स्थान भिन्न छ भने स्थान अनुसार, उक्त स्थानमा चलिआएका लौकिक परम्परा अनुसार उक्त विषयवस्तुमा भिन्नता रहन्छ । जुन ठाउँमा जे जस्तो चलेको छ सोहीअनुसार अघि बढ्न सक्नुपर्दछ ।
स्थानीय भेदको बल पनि अधिक हुने गर्दछ । आजको प्रविधिको युगले यस्ता विषयवस्तुको खोज गर्न थप सजिलो तुल्याएका छन् । सबैले सबैको स्थान र तत् स्थानको लौकिक परम्परालाई पनि सम्मान गर्नुपर्दछ । सकारात्मक र मूलशास्त्रीय मर्मका विषयवस्तुलाई प्रश्रय दिएर अशास्त्रीय नकारात्क भेदलाई न्यूनीकरण गर्नु उपयुक्त हुने देखिन्छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts