हेटौडा । हेटौंडाको एक सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन नसकेको अभिभावकबाट गुनासो आइरहेको छ। हेटौंडा १० स्थित श्री ज्ञानदा माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा दिन नसकेको गुनासो आए पछि वडा कार्यालयले शिक्षा सुधार समिति गठन गरि सुधारको लागि प्रक्रिया अगाडि बढाएको वडाध्यक्ष फुर्वा दोर्जे लामाले जानकारी दिनुभयो ।
विद्यालयको शिक्षण सिकाई कमजोर भएकाे बताउँदै अभिभावकहरुले शैक्षिक गुणस्तरका बारेमा प्रश्न उठाएका हुन् ।
विद्यालयका केही शिक्षकले राम्रो काम नगरेको कारण बालबालिकाले उचित शिक्षा पाउनबाट बन्चित भएको वडाध्यक्षको भनाइ छ। केही शिक्षकहरुले कामै नगरेको कारण विद्यालयमा समस्या सिर्जना भएको बताउँदै अध्यक्ष लामाले निकास निकाल्न शिक्षकहरुलाई प्रतिफल प्राप्त हुनेगरी काम गर्न निर्देशन दिएको र शिक्षकहरुबाट चित्तबुझ्दो जवाफ नआए पढाउन नपाउने गरि चेतावनी दिएको बताउनु भयो । जनताले तिरेको करले तलब खाने शिक्षकले बालबालिकाको भविष्यमाथि खेलवाड गरेकाे भन्दै वडाध्यक्ष लामा आक्रोशित हुनुभएको छ ।
'अभिभावकले आफ्ना नानीबाबु पढाउँदैनौं भन्दा हामीले रोक्दैनौं र रोकेका छैनौं' उहाँले भन्नुभयो, 'शिक्षा सुधारमा पनि उतिकै लागिरहेका छौं, सुधार गरेरै छोड्छौं ।'
विद्यालयका प्रधानाध्यापक रमेश सुवेदीले विद्यालय र यहाँ कार्यरत शिक्षकलाई बदनाम गराउन एउटा समूह हातधोएर लागि परेको बताउनुभयो। भुटनदेवी मन्दिरको जग्गामा विद्यालय बनेको कारण विभिन्न बहाना बनाई विद्यालय हटाउन खोजिएको प्रधानाध्यापक सुवेदीको भनाइ छ।
विद्यालयमा नयाँ भर्ना आइरहेको र विद्यार्थी पनि राम्रो ग्रेड ल्याइ पास भएको भन्दै शिक्षकले नपढाएको कामै नगरेको भन्ने आरोप गलत भएको उहाँको भनाइ छ। मन्दिरमा विवाहलगायातका सामाजिक कार्य हुने समयमा पढाईमा समस्या हुने गरेको भन्दै विद्यालय अन्य स्थानमा सार्दा राम्रो हुने उहाँले बताउनु भयो । हेटौंडा उपमहानगरपालिकाको १ करोडको लगानीमा १५ कोठाको नयाँ भवन निर्माण भइरहेको भन्दै उहाँले शैक्षिक गुणस्तरको विषयमा किचलो निकालेर अवरोध सिर्जना गरिएको बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराम थापाले शिक्षण सिकाईमा केहि समय अघि देखिएको समस्या निराकरण हुँदै गएको बताउनुभयो । शिक्षक कमजोर र अनुशासनहिन भएको भन्ने कुरा सहि हो उहाँले भन्नुभयो अहिले एक वर्ष भयो सुधार भएको छ । शिक्षा सुधार समिति समेत गठन गरी विद्यालय सही मार्गमा अगाडि बढिरहेको छ ।
१० कक्षासम्म पढाइ हुने सो विद्यालयमा करिब ३ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् भने दुई कर्मचारी सहित २० जना शिक्षक रहेका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts