पाल्पा । नेपाली तथा संस्कृत वाङ्मयका अथक साधक, सिर्जना, समालोचना, अनुवाद तथा अनुसन्धानकर्ताका विशिष्ट विद्वान् संस्कृत विद्याशिरोमणि प्रा.डा. वेणीमाधव ढकाल अब हामीमाझ हुनुहुन्न । पाल्पाको रिब्दीकोट गाउँपालिका ठिमुरे पौरखनीमा पण्डित चूडामणि ढकाल र दिव्यलक्ष्मीको कोखबाट कान्छो छोराका रूपमा २००६ वैशाख २६ गते जन्मिनुभएका ढकालको ७५ वर्षको उमेरमा गत मंगलबार (वैशाख १८ गते) आफ्नै निवास काठमाडौंमा निधन भयो । ढकाल केही वर्षयता फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
लेखन, प्राज्ञिक र अनुसन्धानका क्षेत्रमा लामो अनुभव बटुल्नुभएका ढकालले क्यान्सरजस्तो प्राणघातक रोगको अनुभव लिए पनि जित्न भने सक्नुभएन । तर, उहाँले गरेका योगदान र भोगेका अनुभवको अनुशरण गर्नेका लागि ढकालको योगदान सधैँ जीवित रहनेछ । बुबा पण्डित भएकाले वेणीमाधवले पिताबाटै अक्षरारम्भ गर्नुभएको थियो । व्रतबन्धअघि नै विभिन्न स्तोत्र र चण्डी पाठ गर्न सक्ने हुनुभएका उहाँको आठ वर्षमा व्रतबन्ध भएपछि रुद्री, श्राद्ध पद्धति र वेद घरमै अध्ययन गर्नुभयो ।
११ वर्षको उमेरमा काका भुवनेश्वरसँग भारतको ऋषिकेश जानुभएका उहाँले त्यहाँ स्वर्गद्वारी महाप्रभु स्वामी सच्चिदानन्दका शिष्य स्वामी अनन्तानन्द गिरीद्वारा स्थापित नेपाली संस्कृति महाविद्यालयमा प्रथम श्रेणीमा पूर्वमध्यमा गर्नुभयो । त्यसपछि उद्धासीन संस्कृति महाविद्यालय, निर्मल महाविद्यालय र गोरखपुरस्थित गोरक्षनाथ संस्कृति विद्यापीठ एवं सम्पूर्णानन्द संस्कृत महाविद्यालयलगायतमा अध्ययन गरी साहित्याचार्यसम्मका परीक्षा प्रथम श्रेणीमा पास गर्नुभएको थियो । स्व. ढकालले गढवाल विश्वविद्यालयबाट बिए र सम्पूर्ण संस्कृत विश्वविद्यालयबाट स्वर्ण दर्शनमा समेत आचार्य गर्नुभएको छ ।
भारतको अध्ययनपश्चात् नेपाल फर्किएर त्रिभुवन विश्वविद्यालयअन्तर्गत वाल्मीकि अध्ययन संस्थानमा प्राध्यापन गर्नुभएका उहाँले ‘लिच्छविकालिकानामभिलेखनां साहित्यिकमनुशीलन्’ विषयमा ०४९ सालमा महेन्द्र संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको थियो । उत्तर मध्यमापछि उहाँले पाल्पामै निम्नमाध्यमिक र माध्यमिक तहमा अध्यापन गराउनुका साथै प्रधानाध्यापकसमेत हुनुभयो । ०२७ देखि ०३० सम्म हरिद्वारको जयराम महाविद्यालयमा पनि ढकालले अध्यापन गराउनुभयो । उहाँ त्यहाँ साहित्य विभाग अध्यक्षसमेत हुनुभयो ।
भारतका विभिन्न विद्यालय र विश्वविद्यालयमा अध्यापन गराउनुभएका ढकालले ०३३ सालमा नेपाल आएर गृह मन्त्रालयअन्तर्गत अनुसन्धान अधिकृतका रूपमा काम गर्नुभयो । उहाँ ०३४ भदौदेखि महेन्द्र संस्कृत विश्वविद्यालयअन्तर्गत तत्कालीन संस्कृत अध्ययन संस्थानअन्तर्गत वाल्मीकि विद्यापीठको सहायक प्राध्यापकका रूपमा सेवा प्रवेश गरेर प्राध्यापक हुनुभयो । ०६५ चैत १४ गतेबाट सेवानिवृत्त भएपछि उहाँ नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोग अध्यक्ष बन्नुभएको थियो ।
स्व. ढकालले तीनधारा छात्रावासको सुपरीवेक्षक, पाठ्यक्रम परामर्श समिति संयोजक तथा अन्य विभिन्न समितिमा अध्यक्ष भई काम गरिसक्नुभएको थियो । उहाँ ०७२ वैशाख १५ मा पुनः दोस्रो पदावधिका लागि पनि सेवा आयोग अध्यक्ष हुनुभयो ।
जीवनको उत्तराद्र्धमा महेन्द्र संस्कृत विश्वविद्यालयको प्राध्यापक बन्नुभएका ढकालले विभिन्न पदक र विभूषणसमेत प्राप्त गर्नुभएको छ । विश्वविद्यालयमा उहाँ साहित्य शिक्षण विधाको विभागीय प्रमुखसमेत हुनुभयो । उहाँ लेखन तथा साहित्यमा समेत उत्तिकै अब्बल हुनुहुन्थ्यो ।
ढकालका पाँच दर्जनभन्दा बढी कृतिरत्न प्रकाशित छन् । उहाँका कृतिहरू राष्ट्रिय इतिहास, धर्मसंस्कृति, काव्यकला र पौराणिक वाङ्मयसँग सम्बन्धित छन् । स्व. ढकालका ‘शैलेश’, ‘जय ज्योतिष्मती मुमा, रश्मिप्रभास, अर्जुन, पुराणमा नारीलगायत मौलिक कृति प्रकाशित छन् । त्यसैगरी केही विशिष्ट एवं विशालकाय अनुवाद ग्रन्थहरूमा ‘श्रीगणेशपुराण’, ‘निर्णयसिन्धु’, ‘आहिृनकसूत्रावली’, ‘श्रीदेवीभागवत्’, ‘श्रीहिमवत्खण्डको टीकानुवाद’, श्रीशिवमहापुराणको नेपाली टीका’ छन् । नेपाल संस्कृत विश्वविद्यालयमा ३५ वर्ष लामो अवधि सेवा गर्नेक्रममा ग्रन्थ सम्पादन समितिको संयोजकका रूपमा रहेर अनेकाँै ग्रन्थहरूको सम्पादन गरी विश्वविद्यालयको प्राज्ञिक जग उठाउने कार्यमा उहाँले ठूलो योगदान पुर्याउनुभएको थियो ।
उहाँ सेवा अवधिमा विभागाध्यक्ष, अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकका साथै ६ वर्षसम्म दुई कार्यकाल विश्वविद्यालय सेवा आयोगको अध्यक्ष भई सेवानिवृत्त हुनुभएको थियो । वेदान्त दर्शन, धर्मशास्त्र र पुराणका व्याख्याता स्व. ढकालको निधनले अपूरणीय क्षति पुगेको संस्कृत क्षेत्रका सरोकारवालाको भनाइ छ । साहित्यकार तथा त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक टंक पन्तले सामाजिक सञ्जालमार्फत् ढकालको निधनले पूर्वीय साहित्य, संस्कृति र सिंगो वाङ्मयका क्षेत्रमा अपूरणीय क्षति पुुगेको बताउनुभएको छ । पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करराज रेग्मीले पनि नेपाली र संस्कृत वाङ्मयका मूर्धन्य व्यक्तित्व ढकालको निधनप्रति दुःख व्यक्त गर्दै देशले ठूलो क्षति बेहोर्नुपरेको बताउनुभयो । ढकालका ज्वाइँ रमेश खनालले बुुबाको बृहत् शब्दकोश निकाल्ने अन्तिम धोको रहे पनि पूरा हुन नसकेको बताउनुभयो ।
जीवनभर सबैलाई उत्तिकै महत्वमा राखेर व्यवहार गर्न सक्ने ढकालले नेपाली समाजलाई धेरै किसिमको शिक्षा दिएर जानुभयो । सधैँ आफूलाई सक्रिय राख्न खोज्ने ढकालले छाडेर गए पनि उहाँले उमारेका र छरेर गएका ज्ञानलाई अनुशरण गर्न सके कसैको पनि जीवन अन्धकारमा फस्दैन । ढकालप्रति हार्दिक श्रद्धाञ्जली !







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता