जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय प्रथम सम्मेलन’ हुने भएको छ ।

हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साइक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला नेपालको सहकार्यमा ‘सामुदायिक मानसिक रोगसम्बन्धी अन्तर्राष्ट्रियस्तरको प्रथम सम्मेलन जुम्लामा यही वैशाख २२-२३ गते दुई दिनसम्म सञ्चालन हुने भएको हो ।

कर्णालीमा सामान्यतः एकजना मानिसक रोग विशेषज्ञ जान नसक्ने ठाउँका नागरिक सबैका लागि मानसिक स्वास्थ्य र सेवाको पहुँच पुर्याउने उद्देश्यले अन्तराष्ट्रियस्तरको सम्मेलन गर्न थालिएको हार्वर्ड युनिभर्सिटीको फ्याकल्टी डा श्रीधर पौडेलले जानकारी दिनुभयो ।

उक्त सम्मेलनमा अमेरिकाबाट चार र नेपालभरिबाट ९० भन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाताहरू सहभागी हुने उहाँले बताउनुभयो । डा पौडेलका अनुसार उक्त सम्मेलनमा करिब ५० मानसिक रोगसम्बन्धी कार्यपत्र प्रस्तुत हुनेछन् । स्वास्थ्य तथा जनस्ख्या मन्त्रालयका सचिव, कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री, स्थानीय सरकारका प्रमुख तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि सम्मेलनमा सहभागिता रहनेछन् ।

ADVERTISEMENT

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलले दुनियाँको सबैभन्दा सुगम हार्वर्ड युनिभर्सिटी र अत्यन्तै दुर्गममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मिलेर गर्न थालिएको मानसिक स्वास्थ्यसम्बन्धीको अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललगायत कर्णालीका नागरिकको स्वास्थ्य अवस्थामा उल्लेख्य प्रगति हुने बताउनुभयो । “जुम्लामा सम्मेलनमात्र हुने छैन”, उहाँले भन्नुभयो, “हार्वर्ड युनिभर्सिटी र कर्णाली स्वास्थ्य विज्ञानबीच स्वास्थ्य शिक्षा, अनुसन्धान र सेवामा सहकार्य र साझेदारी हुनेछ ।”

प्रतिष्ठानका जनरल प्राक्टिक्स एण्ड इमर्जेन्सी विभाग प्रमुख डा तुला गुप्ताले दुर्गम क्षेत्रका नागरिकको मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर विभिन्न चुनौतीका बाबजुद पनि जुम्लामा सम्मेलन गर्न थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्मेलनमा विशेषज्ञ विज्ञहरूबाट मानसिक स्वास्थ्यसम्बन्धीका कार्यपत्र पेस हुनेछन् । सम्मेलनले पाँच वर्षमा कर्णाली र यहाँको स्वास्थ्य अवस्थालाई कहाँ पुर्याउने विषयमा ‘जुम्ला घोषणापत्र’ जारी गर्नेछ ।”

एक सयभन्दा बढी सरोकारवालाहरूको सहभागिता रहने उक्त सम्मेलनमा सेन्टर फर मेन्टल हेल्थ एण्ड काउन्सेलिङ (सिएमसी) नेपाल, हेल्थ फाउण्डेसन, एकीकृत मानसिक स्वास्थ्य केन्द्र (एनआइओएमएच) र नेपाल हेल्थ कोप्र्स साझेदार निकायका रूपमा काम गर्ने प्रतिष्ठान जुम्लाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *